प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

चितवन — भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘लय छुटेको समय’ शनिबार सार्वजनिक भएको छ । चिकित्सा शिक्षा पढ्दाका पौडेलका गुरु रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नवलपुर गैंडाकोटमा आयोजना भएको कार्यक्रममा पुस्तक विमोचन गरे ।

‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखेको पुस्तक भएको डा.पौडेलले बताए । पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरुका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्याजस्ता विषय समेटिएको उनले बताए ।

पुस्तकबारे चर्चा गर्दै समीक्षक एकनारायण पौडेलले निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरुसमेत रहेको बताए । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरु रहेको समीक्षक पौडेलले बताए । ‘पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरु अटाएको छ । उहाँले बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायहरुका साथै अनुभव र मनोभावनाहरु राख्नु भएको छ,’ समीक्षक पौडेलले भने ।

प्रमुख अतिथि कोइरालाले पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राखे । ‘उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ । उहाँ चिकित्सकमात्रै नभएर समाजशास्त्रमा एमए गरेको व्यक्ति भएका कारणले यो सम्भव भयो,’ कोइरालाले भने । डा. पौडेलको यसअघि निबन्धसंग्रह ‘कम्मरीदेखि कोभिड कहर’ र कवितासंग्रह ‘खुसीहरुको वनबास’ प्रकाशित भएका छन् ।

Comments are closed.