डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ लोकार्पण

काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोह बीच लोकार्पण गरिएको छ ।
काठमाडौँको मीनभवनस्थित थाहा पुस्तकालयमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि नियात्रा कार घनश्याम राजकर्णिकार र अन्य अतिथिहरुद्वारा संयुक्त रुपमा ‘मृतसागरमा तैरिँदा’ कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राजकर्णिकारले नियात्रा संग्रहमा २१ वटा निबन्ध रहेको र केही स्वदेशी र केही विदेशी नियात्रा रहेको बताउनु भयो । प्रशासनिक व्यस्तताले पहिले नै साहित्य लेखन गर्न नसकेको उहाँको कृति पढेर थाहा पाइने उहाँले बताउनु भयो । नियात्रा कृतिमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्ण गरेको उहाँले उल्लेख गर्नुभएको थियो ।
स्रष्टा समाजका संरक्षक पवन आलोकले स्रष्टा डा। कडेललाई धेरै पहिलेबाट चिनेको मात्र नभइ सँगै लामो समय काम गरपनि उहाँको साहित्यिक व्यक्तित्व नचिनेको बताउनु भयो । पछिल्लो समय उहाँले लेख्न थालेको र लेखन उत्कृष्ट रहेको आलोकले बताउनु भयो । नियात्रामा जहाँ पुग्यो त्यहीँको भाषा, परिवेश, रहनसहन, मौलिकता टपप्क टिपेको उहाँले बताउनु भयो । राष्ट्रियताको पक्षमा पनि सजग हुनुहुन्छ भन्ने कुरा नियात्रामा देखिने उहाँले बताउनु भयो । पहिलो नियात्रा कृति नै यति उत्कृष्ट आयो भने भविष्यमा थप राम्रा कृति आउने उहाँले अपेक्षा समेत गर्नुभयो ।

नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले डा। कडेलले पाठकले नबिर्सिने गरी ठाउँ विशेषका विशेषण उल्लेख गर्नुभएको बताउनु भयो । नियात्रामा पूर्वस्मृति र स्थानगत तादत्म्यता देखाइदिएको उहाँले बताउनु भयो । ती ठाउँ नघुमेका पाठकलाई नेपालकै चिरपरिचित स्थानहरूसँग जोडेर तादत्म्यता देखाइएको उहाँको भनाई थियो । ‘यी नियात्रा एउटा शिक्षविद्ले गरेको सफर हुन्’ उहाँले भनाइ थियो ।
नियात्राकार जय छाङ्छाले पुस्तकको बारेमा विस्तृत समीक्षा गर्नुभएको थियो । समीक्षाको क्रममा उहाँले एउटा उत्कृष्ठ कृति पाठक माझ आएको बताउनु भयो । स्वदेशका ९ वटा र विदेशका १२ वटा गरी २१ वटा नियात्रा यस कृतिमा समावेश भएको उहाँले बताउनु भयो । नियात्राबाट धेरै ठाउँका नयाँ सूचना र जानकारी प्राप्त हुने उहाँले बताउनु भयो । नियात्राको सौन्दर्य भनेको नयाँ सूचना दिनु पनि भएकोले सो कुरा डा। कँडेलको यो कृतिले दिने उहाँले बताउनु भयो ।
नियात्राकार डा.कडेलले साहित्यको क्षेत्रमा अहिले आफू केटाकेटी नै भएको बताउँदै उहाँले आगामी दिनमा अन्य कृतिहरु पनि प्रकाशन गर्न तयार रहेको सूचना दिनुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा ८५० भन्दा बढि नियात्रा कृति आइसकेको जानकारी दिनुभयो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको लोकार्पण समारोहमा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, स्रष्टा समाजका संरक्षक पवन आलोक, नियात्रा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, नियात्रा समाजका महासचिव जय छाङ्छा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अतिथिहरुलाई समाजका सदस्य शंकर भारतीले स्वागत गर्नुभएको थियो भने समाजकी सदस्य डा. शान्तिमाया गिरीले सो कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो ।

 

Comments are closed.