पूर्व अरनिको यातायातले सञ्चालनमा ल्यायो एसी सहितको डिलक्स बस

काठमाडौं । पूर्व अरनिको यातायात सेवा प्रालिले एसी सहितको डिलक्स बस सञ्चालनमा ल्याएको छ ।

रामेछापको मन्थलीबाट दोलखाको चरिकोट हुँदै काठमाडौंसम्म चल्ने सो सुविधा भएको बस सोमबारबाट सञ्चालनमा आएको हो । सेवाको सोमबार बिहान वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले शुभारम्भ गर्नुभयो ।

सेवा शुभारम्भ गर्दै श्रेष्ठले निजी क्षेत्र राज्यमा रोजगारी सिर्जना गर्ने प्रमुख अङ्ग समेत भएकोले उहाँहरूलाई व्यवसायीको रूपमा मात्र हेर्न नहुने बताउनुभयो । यातायात व्यवसाय नाफा कमाउने क्षेत्र मात्र नभएर सेवाको क्षेत्र पनि भएको उहाँले प्रष्ट पार्नुभयो ।

पूर्व अरनिको यातायातको लामो इतिहास भएको बताउँदै श्रेष्ठले विगतको विरासतलाई समेत जोगाएर समय सापेक्ष सेवा प्रवाह गर्नु अबको आवश्यकता रहेको बताउनुभयो ।

नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले रामेछापका ग्रामीण क्षेत्रका नागरिकलाई यातायात थप सहज बनाउन विभिन्न रुटमा बस सेवा सञ्चालन गर्न कम्पनीलाई सुझाव दिनुभयो ।

कम्पनीका अध्यक्ष केदार क्षेत्रीले रामेछाप जिल्लामा सञ्चालन आएको यो पहिलो एसी बस भएको जानकारी दिनुभयो । यस अघि दशैँको बेलामा दोलखामा पहिलो पटक एसी बस सेवा सुरु गरेको बताउनुभयो । यात्रीको स्वास्थ्यलाई समेत ध्यान दिएर एसी बस सेवा सञ्चालनमा ल्याएको उहाँले प्रष्ट पार्नुभयो ।

यातायात व्यवसाय बिस्तारै कठिन पेसाको रूपमा परिणत हुँदै गएको उहाँले बताउनुभयो । यति हुँदा हुँदै पनि ५१ वर्षदेखि सेवा दिँदै आएको अरनिको यातायात सेवा प्रालिले कतिपय अवस्थामा व्यवसायमा घाटा खेपेर भए पनि सेवा सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पूर्व अरनिको यातायात सेवा प्रालि मन्थलीका प्रमुख सुवास फुयाँलले यात्रीहरूलाई कम्पनीको सेवा लिन र आवश्यक सुझाव दिन अनुरोध गर्नुभयो ।

सेवा शुभारम्भ कार्यक्रममा जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, व्यवसायी तथा स्थानीयको सहभागिता रहको थियो ।

Comments are closed.