अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, १५ पुस

बर्दिया, बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बर्दवा बस्ने ३९ वर्षीय द्वारिका प्रसाद थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ४८१० नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ फुलवारी बस्ने २५  वर्षीय प्रताप ओखेडा र २५ वर्षीय मनोज बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले से.५ प ९३७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुको खाल्डोबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५० किलो बिहीबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा २७ वटा बोरामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.