अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ३० साउन

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रदेश लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई कोठाको विभिन्न ठाँउमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सिरहा, औरही गाउँपालिका-१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पार्वतीले आफ्नै घरमा लागूऔषध गाँजा बिक्रीबितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलवार र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा घरको बैकलमा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ सय २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने २५ वर्षीय आशिस शाहीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.