स्रष्टा सम्मान तथा काव्य उत्सव- २०८० सम्पन्न

घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको छ ।

परिषद्का जिल्ला अध्यक्ष दीपक शर्मा (समीर)को अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्राडा लामिछानेले राप्ती साहित्य परिषद् यहाँको साहित्यिक कारखाना भएको र यसले साहित्यकारलाई परिष्कृत गरेको बताउनुभयो । ‘साहित्यिक क्षेत्रमा खास योगदानको कदर अहिले पनि हुन सकेन’– प्रमुख अतिथि लामिछानेले भन्नुभयो– ‘हिजो दरबारको वरपरकालाई हुन्थ्यो अहिले पनि उस्तै छ ।’ उहाँले एकेडेमीमा उचित व्यक्तिले स्थान नपाएकोमा दुःख व्यक्त गर्नुभयो । ‘एक दुईवटा नियात्रा लेख्नेले स्थान पाउने साहित्यमा ठूलो योगदान गरेकाले देख्नै नपाउने अवस्था छ’– उहाँले भन्नुभयो ।

यस क्षेत्रको साहित्य संस्थागत ढंगले रचना गर्ने, प्रस्तुत गर्ने र उत्प्रेरणा दिने परिषद्को भूमिका महत्वपूर्ण भएको बताउनुभयो । अति राम्रो कार्यकाल भएको विशिष्ट अतिथि परिषद्का संस्थापक अध्यक्ष शर्माले बताउनुभयो ।

‘मानवतावादी साहित्य सिर्जना गरौं’– विशिष्ट अतिथि शर्माले भन्नुभयो– ‘साहित्यले कमजोरी पखालेर शुद्ध बनाउँ ।’ उहाँका अनुसार मित्रताको जागरण ल्याउने वास्तविक शक्ति साहित्य हो । हिजो धेरै उठापट्की गरियो, आवश्यकता पनि थियो । आजको युग पुरानो ढर्राबाट चल्न सक्दैन । विश्व युद्ध र शान्ति दुई धु्रवमा छन् । भौतिक सम्पन्नता छ । सबैलाई आनन्द चाहिएको छ । त्यसबाट कसैलाई पनि बञ्चित गर्न अहिले सम्भव छैन ।

यसैगरी राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले जिम्मेवारी अनुसार अहिलेको कार्यसमितिले अत्यन्तै राम्रो भूमिका खेलेको बताउनुभयो । प्रगतिशील लेखक संघका सल्लाहकार पद्मप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार साहित्यकार नारायण नेपाललाई, कृष्ण गायत्री प्रज्ञा पुरस्कार साहित्यकार यज्ञबहादुर डाँगीलाई, देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार साहित्यकार छविलाल कोपिलालाई नगद, कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

यसैगरी वरिष्ठ साहित्कार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, परिषद्का दाङ शाखा निवर्तमान अध्यक्ष एवं हालका सल्लाहकार कमलमणि देवकोटा र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी खेमराज गाउँले र पत्रकार गोविन्द खड्कालाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

अध्यक्षमा रेग्मी

परिषद्को जिल्ला अध्यक्षमा यम रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष सुरेशकुमार पाण्डेय, सचिव घनश्याम केसी, सह सचिव वीणा रोका क्षेत्री र कोषाध्यक्षमा सुशीला आचार्य वैद्य चयन हुनुभएको छ । सदस्यहरुमा गुरुप्रसाद कुमाल (बुलबुल), अर्जुनकुमार पौडेल (अर्जुन), कपिल लामिछाने र नारदप्रसाद भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी दुईजना सदस्य कार्यसमितिले थप्ने भएको छ ।

सो अवसरमा प्राज्ञ उत्तम कृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, साहित्यकारहरु नारायण नेपाल, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकारहरु लालबहादुर आरसी, हिरा डिसी, अभि क्षेत्री (समर्पण), कमलमणि देवकोटा, एकनारायण चापागाईं, यज्ञबहादुर डाँगी, अर्जनकुमार पौडेल (अजु), प्रकाश केसी, छविलाल कोपिला, कपिल लामिछाने, श्रवण नेपालीलगायतले रचनावाचन गर्नुभएको थियो । कार्यक्रममा परिषद्को वार्षिक मुखपत्र साहित्यपुञ्ज तेस्रो अंक विमोचन गरिएको थियो । कार्यक्रममा स्वागत परिषद्का कोषाध्यक्ष यम रेग्मीले र सञ्चालन परिषद्का सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

Comments are closed.