क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान

काठमाडौँ । कलाकार तथा क्याप्टेन विजय लामालाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल संगीतिक सङ्घले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनलाई नगद रु २५०००– सहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

लामालाई अभिनय र पाइलट पेसामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । पुरस्कार विकाश घले गुरुङले आफ्ना बाबु (लाल)– आमा (समुन्द्रा) गुरुङको नामबाट स्थापना गरेका हुन् ।

विकास फिल्मका लेखक, नृत्य निर्देशक र निर्देशक पनि हुन् । विकास केही वर्षदेखि अमेरिका बस्दै आएका छन् । उनी तेक्वन्दो प्रशिक्षक पनि हुन् । पुरस्कार अग्रजलाई सम्मान र नवलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
यो पुरस्कार यस अगाडि कलाकार–लेखक–निर्देशक ओम प्रतीक गुरुङ, गीतकार संविधानविद्ध भीमार्जुन रेग्मी, गायिका कोमल वली, अग्रज कलाकार लेखक तथा निर्देशक कुशल प्रशिक्षक नीर शाह, मह जोडीलगायतले प्राप्त गरेका छन् ।

कार्यक्रममा शिवशङ्कर मानन्धरले ‘राष्ट्रिय साङ्गीतिक सम्मान’, रत्न शमशेर थापाले ‘राष्ट्रिय साङ्गीतिक सम्मान’, मिरा राणाले ‘प्रेमध्वज प्रधान राष्ट्रिय साङ्गीतिक सम्मान’ समेत प्राप्त गरेका थिए ।

Comments are closed.