शनिवार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यकालागि नवराज लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।
यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।
गुठीले २०१३ सालदेखि मदन पुरस्कार प्रदान गर्दै आएको छ | पुरस्कारको राशि चार लाख नगद सहित सम्मानपत्र रहेको छ।
२०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि बलराम जोशीलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो।
Comments are closed.