कविता संग्रह ‘तेप्लायु’ लाई विमल गुरुङ कृति पुरस्कार

सुनसरी — धरानस्थित कवि विमल गुरुङ पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ कवि काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’ लाई प्रदान गर्ने निर्णय गरेको छ । पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको बैठकले कविता संग्रह ‘तेप्लायु’ लाई कवि विमल कृति पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि २ लाख ५१ रुपैयाँ र ताम्रपत्र रहेको छ ।

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल कृति पुरस्कार ०७८ का लागि आह्वान गर्दा स्वदेश र विदेशमा रहेका नेपालीभाषी लेखक कवि साहित्यकारहरूले विभिन्न विद्याका ४२ थान पुस्तक दर्ता गरेकोमध्ये तेप्लायुलाई श्रेष्ठ ठहर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

उनले भने, ‘यसअघि पुस्तक छनौट समितिले पुरस्कारकालागि पुस्तकालयमा दर्ता भएकामध्ये श्रेष्ठ १० पुस्तकको सूची सार्वजनिक गरिएको थियो । सोही १० श्रेष्ठमध्ये तेप्लायु अब्बल ठहर भएको निर्णायक समितिले सिफारिस गरेको आधारमा तेप्लायुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।’

अन्तिम १० को सूचीमा काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’, सहित प्रणय शंकरको कविता संग्रह ‘कांसभांडा’, कविता राईको उपन्यास ‘गुरु’, निर्मल तामाङको कविता संग्रह ‘जव हावा चल्छ’, दिलिप बान्तवाको कथा संग्रह ‘ताल्चा’, सुनिता राई कन्दङ्वाको कथा संग्रह ‘तिउरी’, विशाल विश्वकर्माको उपन्यास ‘दार्जीलिङ भर्सेस दार्जीलिङ’, बसन्त बस्नेतको उपन्यास ‘महाभारा’, दीपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ र अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङको इतिहास पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंहका लेखोट’ परेका थिए ।

सिफारिस समितिले श्रेष्ठ १० कृति पनि आफ्नो ठाउँमा अब्बल रहे पनि कवि काङ्माङ नरेश राईले ७० को दशकदेखि ‘युद्ध साहित्य सिद्धान्त र सिर्जना’ मार्फत नेपाली साहित्य जगतका लागि नवीनतम कविताकृति ‘तेप्लायु’ युद्ध साहित्यको सिद्धान्तभित्र रहेर निर्माण गरिएको कृति भएकाले पुरस्कार दिन योग्य ठहर गर्दै सिफारिस गरेको अध्यक्ष गुरुङले बताए ।

सिफारिस समितिले गरेको सिफारिसमा भनिएको छ, ‘विश्वसाहित्यलाई हेर्दा विचार र सिद्धान्तले निर्देशित सिर्जना नै सबैभन्दा अब्बल र जीवन्त रहदै आएका छन् । सिद्धान्त वा चेतबिनाको साहित्यको आयु काफर हुन्छ । सिर्जनाको चुरो वस्तु हो चेत । यही चेतको फिलिङ्गोबाट जन्मिन्छ सिद्धान्त । कवि तथा अभियन्ता काङ्माङ नरेश राईले नेपाली साहित्यमा ‘युद्ध साहित्य’ लेखिरहेका स्रष्टा हुन् ।’

तेप्लायु कविता सङ्ग्रहमा युद्ध र योद्धाहरुको मनोविज्ञान, सामाजिक सुझबुझ र वीरताको कथा–गाथाहरु सुन्दर ढङ्गले बुनिएका कविताहरु समेटिएका छन् । नेपालीहरु युद्धसग जोडिदै आएको इतिहास निक्कै लामो रहेको छ तर यसलाई सैद्धान्तिकीकरण गर्न सकिएको थिएन । काङ्माङ नरेशले त्यो काम गरेको र सोही आधारमा कविता कृति सिर्जना गरेकाले तेप्लायु पुरस्कारको भागिदार बनेको पुस्तकालायले जनाएको छ । पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३१ औ राष्ट्रिय कविता महोत्सव तथा विमल गुरुङको ५१ औं जन्म जयन्तीको अवसरमा प्रदान गरिने छ ।

Comments are closed.