वरिष्ठ साहित्यकार एवं पत्रकार प्रमोद प्रधानलाई ’तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मान’ प्रदान गरिने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था, विराटनगरले प्रधानलाई आफ्नो बाह्रौं स्थापना दिवसको अवसरमा उक्त सम्मान गर्ने भएको हो ।
प्रधानले २०३२ सालमा विराटनगरबाट पत्रकारिता सुरु गरेका थिए । उनले विराटनगरबाट प्रकाशित हुने कोसेली पत्रिकाको स्तम्भकार र सहयोगी सम्पादक भएर काम गरेका थिए । २०३५ देखि २०६५ सम्म राष्ट्रिय समाचार समितिमा र २०६७ देखि २०७६ सम्म आर्थिक अभियान दैनिकमा सम्पादकीय भूमिकामा रहेर काम गरेका थिए ।
विराटनगरबाट प्रकाशित भएका पूर्वान्चल खबर, स्वतन्त्र नेपाल, विराट नेसनल टाइम्समा उनले प्रद्युम्न उपनामबाट लेखहरू लेख्ने गर्थे । विराटनगरमा स्थापित पत्रकार कल्याण कोषको उनी संस्थापक महासचिव समेत रहेका छन । साहित्य र पत्रकारितामा खोजअनुसन्धानमा सक्रिय प्रधानको ’मोरङमा पत्रकारिताको अर्धशताब्दी’ शीर्षकको अनुसन्धानात्मक पुस्तक प्रकाशित छ ।
तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मान सम्मान डा. सम्झना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेकी हुन् । यो सम्मानसँगै नगद ५१ हजार राशिसमेत रहेको छ । सम्मान असार २७ गते विराटनगरमा प्रदान गरिने कार्यक्रम छ । यो सम्मान यसअघि पत्रकार राजेन्द्र दाहाललाई प्रदान गरिएको थियो ।
Comments are closed.