काठमाडौं – राजकुमार सन्तोषी निर्देशित फिल्म ‘बटवारा १९४७’ नेपालमा शुक्रबार साँझदेखि प्रदर्शनमा आउने भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले केही दृश्य हटाएर प्रदर्शन अनुमति दिएपछि उत्पन्न विवादका कारण फिल्म शुक्रबार बिहानदेखि भने प्रदर्शनमा आउन सकेको थिएन।
केन्द्रीय चलचित्र जाँच समितिले बिहीबार फिल्मका केही दृश्य काटेर प्रदर्शन गर्न अनुमति दिएको थियो। तर नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले समितिले तोकेअनुसार दृश्य हटाएर फिल्म प्रदर्शन गर्न नसकिने प्रतिक्रिया दिएपछि रिलिज प्रभावित भएको थियो।
अब भने फिल्म बिनाकाटछाँट प्रदर्शनमा आउने राठीले बताएका छन्। उनका अनुसार फिल्मलाई कुनै दृश्य नहटाई शुक्रबार साँझदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
यता, सेन्सर बोर्डका सदस्य मनोज पण्डितले भने समितिले फिल्मका केही दृश्य हटाउन स्पष्ट निर्देशनसहित प्रदर्शन अनुमति दिएको बताएका छन्। उनका अनुसार कुन–कुन दृश्य हटाउने भन्ने विषय स्पष्ट रूपमा लेखेर वितरकलाई दिइएको छ।
“हामीले स्पष्ट लेखेर यो–यो दृश्य हटाउने भनेर दिएका छौँ। अन्य कुरा थाहा भएन,” पण्डितले भने।
फिल्म ‘बटवारा १९४७’ भारत विभाजनका क्रममा मानिसहरूले भोगेको पीडा, विस्थापन, आघात र कठिन परिस्थितिको कथामा आधारित छ।
फिल्ममा सनी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यसै फिल्ममार्फत अभिनेत्री प्रीति जिन्टा लामो समयपछि पर्दामा फर्किएकी छन्।
नेपालमा फिल्मको प्रदर्शनलाई लिएर सेन्सर समितिको निर्देशन र वितरकबीच देखिएको मतभेदका कारण रिलिज प्रभावित भए पनि शुक्रबार साँझदेखि प्रदर्शनमा आउने वितरकको भनाइ छ।







Discussion about this post