अनुराधा ढकालको मुक्तकसङ्ग्रह ‘आरब्ध’ लोकार्पण

२०७९ चैत्र १८, काठमाडौँ।
नेपाल मुक्तक प्रतिष्ठानद्वारा आयोजित अनुराधा ढकालको मुक्तकसङ्ग्रह ‘आरब्ध ‘ को साहित्यकार तथा वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले एक समारोहबिच लोकार्पण गर्नुभयो। “पहिलो कृति नै गहकिलो र परिष्कृतरूपमा प्रकाशन भएको छ; यसलाई निरन्तरता दिनुहोला ” भन्दै ढकाललाई प्रमुख अतिथि खरेलले शुभकामना दिनुभयो।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रा. डा. भागवत ढकालले ‘आरब्ध ‘ आरम्भ हो, यस सङ्ग्रहमा देश, संस्कृति, दर्शन, प्रकृति, जीवनजगत्, राजनीतिलगायतका विविध विषयहरू समाविष्ट भएको बताउँदै आगामी दिनमा अनुराधा ढकालबाट अझै ओजिलो कृति आउनेमा विश्वस्त छु भन्नुभयो।
प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले अतिथिहरूलाई मन्तव्यले स्वागत गर्दै स्रष्टा ढकाललाई बधाई र शुभकामना दिनुभयो।
समालोचक तथा प्रतिष्ठानका सल्लाहकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमले ढकाललाई कृति प्रकाशन तथा जन्मदिनका अवसरमा शुभकामना दिनुभयो। उहाँले भन्नुभयो, ‘अनुराधा ढकाल गम्भीर स्रष्टा हुन्।’ अध्ययनशील र साधनाशील ढकाललाई यस सङ्ग्रहले सिद्धहस्त मुक्तककारका रूपमा स्थापित गर्नेमा आफू विश्वस्त रहेको बताउँदै अब प्रकाशित हुने कृति ‘आरब्ध ‘ भन्दा अब्बल होस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो।
यसैगरी प्रतिष्ठानका सल्लाहकार तथा साहित्यकार ज्ञानुवाकर पौडेलले ‘ आरब्ध ‘ सङ्ग्रहका मुक्तकहरू पढ्दा यो कृति लेखकको पहिलो कृति हो भन्ने लाग्दैन; कृति अत्यन्तै परिमार्जित छ। पौडेलले पहिलो कृति नै यति सशक्त र पठनीय छ भन्नुभयो।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत कृतिकारका दाजु मुक्तराज ढकालले बहिनीको कृति प्रकाशन भएकामा खुसी व्यक्त गर्दै अनुराधाको लेखन र प्रतिभाको प्रशंसा गर्नुभयो।
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेले कृति र कृतिकारको प्रशंसा गर्दै ‘आरब्ध ‘ मुक्तकसङ्ग्रह नारीस्रष्टाहरूमध्ये सङ्ख्यात्मक दृष्टिले एउटै कृतिमा यति धेरै मुक्तक समाविष्ट सम्भवत: पहिलो कृति हुनुपर्छ भन्नुभयो। सङ्ग्रहमा ४०९ वटा मुक्तकहरू सङ्गृहीत छन्।
कृतिकार अनुराधा ढकालले कृति प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्दै भैरहवाको साहित्यिक माहौल, त्यहाँका साहित्यिक संस्था र साहित्यकारहरूको सान्निध्य, स्नेह र हौसलाले सिर्जनकर्ममा अघि बढ्न र यहाँसम्म आइपुग्न सकेको बताउनुभयो। कार्यक्रममा उहाँले लोकार्पित कृतिबाट केही मुक्तक वाचन गर्नुभएको थियो।


प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले ढकाललाई बधाई र शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
लेखक कार्यरत संस्था सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशी, कृतिकार अनुराधा ढकालकी आमा लक्ष्मी ढकाल तथा विभिन्न स्रष्टाहरूको उपस्थिति रहेको सो समारोहमा प्रतिष्ठानका महासचिव यादव भट्टराईले कार्यक्रम सञ्चालन गर्नुका साथै लोकार्पित कृतिबाट केही मुक्तक वाचन गर्नुभयो। उहाँले लेखक आफ्ना सिर्जनामार्फत सधैँ जीवन्त रहन्छ भन्दै सुन्दर र गहन कृतिका लागि लेखकलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो।
बुवा नन्दलाल ढकाल र आमा लक्ष्मी ढकालमा समर्पित तथा नेपाल मुक्तक प्रतिष्ठानबाट प्रकाशित ‘आरब्ध ‘ मुक्तकसङ्ग्रहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आशीर्वचन, सरुभक्त र प्रा. डा. लक्ष्मणप्रसाद गौतमको भूमिका तथा रामकाजी कोने, बालकृष्ण भट्टराई, बूँद राना, रुद्र ज्ञवालीको शुभेच्छा र लेखकको भनाइ समाविष्ट छ।

Comments are closed.