भावना खनालको ‘भाव सङ्‌गम’ सार्वजनिक

 

पाल्पा — विश्व नेपाली साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशकी अध्यक्ष तथा पाल्पाली साहित्यकार भावना खनालले ‘भाव सङ्‌गम’ कवितासंग्रह सार्वजनिक गरेकी छिन ।

हास्यव्यंग्य निबन्धकार तथा त्रिभुवन बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख चोलेश्वर शर्मा लगायतका साहित्यकारहरुले तानसेनमा खनालको भाव संगमको विमोचन गरेका थिए । भिन्न छन्द र मितिमा रचित ६० वटा कविताहरु यस संग्रहमा छन् । छन्द कविको रुपमा पहिचान बनाएकी खनाल कलाको सुन्दरताका साथमा गायन गलाले सुसज्जित भई सिंगारिएका कविता रहेको समीक्षक लक्षिमा ज्ञवालीले बताइन् । ‘भावनाका कवितामा राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको जस्तै दम भएको मैले पाएँ,’ साहित्यकार तथा उपप्राध्यापक ज्ञवालीले भनिन्, ‘मोफसलबाट राष्ट्रियस्तरमा नै यो कृतिको माध्यमबाट मापन हुन सक्नेछ ।’

कविता संग्रहको विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका अध्यक्ष कृष्णबहादुर डिसीले समीक्षा गर्दै पुर्वीय जगतमा प्रचलित परिष्कारवादी चेतना र पाश्चात्यमा साहित्यमा प्रचलित स्वच्छन्दतावादी चेतनाको सुन्दर सम्मिश्रण भेटिने बताए । ‘सामान्य विषयवस्तुलाई समेत टपक्क टिपेर कविताको शीर्षकका रुपमा चयन र्ग सक्ने क्षमता राखेको पाइन्छ,’ उनले भने, ‘कविताहरुमा संवादात्मक शैलीको प्रयोग गरी कविता विद्यालाई नवीन मूल्य र मान्यता प्रदान गर्न सक्नु विशेष क्षमता हो ।’

कविता संग्रहभित्रका सबै कविताहरु शास्त्रीय छन्दमा रचिएको छ भने विषयगत अनेकता र भावगत विविधता कवितामा रहेको छ । समसामयिक यथार्थ, राष्ट्रवादी भावना, सांस्कृतिक मूल्यका सम्पदाको उल्लेख, पाल्पाप्रतिको रुझान, वर्तमान समयको आवाजका साथै मानवीय कर्तव्यलाई कवितामा मुखारित छन् ।
आमा तिलाकुमारी बस्याल प्रकाशक रहेको कवितासंग्रहमा काठमाडौंका नवराज लम्साल, नेत्रप्रसाद न्यौपाने, झापाका चन्द्र भण्डारी, साहित्यकारहरु विद्यान आचार्य, टंकप्रसाद पन्थ, पुष्कर रेग्मी लगायतले समीक्षा गर्दै शुभकामना दिएका छन्

Comments are closed.