‘वियागी’को महाकाव्य ‘कालिञ्चोक’ लोकार्पित

काठमाडौँ , २०८१ असार । नेपाली साहित्यमा अन्य विधाको तुलनामा महाकाव्य सिर्जनामा थोरै मात्र साधकले सफलता प्राप्त गरेको देखिँदैआएको छ । यसै सन्दर्भमा महाकाव्यकार रामचन्द्र घिमिरे ‘वियागी’को दोस्रो महाकाव्य ‘कालिञ्चोक’ एक समारोहबिच लोकार्पण गरियो ।

उक्त महाकाव्यको लोकार्पण नेपाल संस्कृत विश्वविद्यालयका प्रथम शिक्षाध्यक्ष विद्यानाथ उपाध्याय भट्टले गर्नुभएको हो ।
लोकार्पित महाकाव्यमाथि विद्वान व्यक्तित्वहरु प्राडा. शैलेन्दुप्रकाश नेपाल, डा. देवी नेपाल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, प्राडा. भागवत ढकाल, प्राडा. जगतप्रसाद उपाध्याय ‘पे्रक्षित’ लगायतले प्रकाश पार्नुभएको थियो ।

वक्ताहरुले महाकाव्यका आधारभूत सिद्धान्तभित्र रहेर सिर्जिएको प्रस्तुत महाकाव्यमा देवीको महिमागानका साथै प्राकृतिक सौन्दर्य वर्णन गरिएकोले पठनीय भएको बताउनुभयो । महाकाव्य सिर्जनामा ठुलो आँट र तपस्या आवश्यक हुने भन्दै उहाँहरुले वियोगीको साधनाको प्रशंसा गर्नुभएको थियो ।
महाकाव्यकार वियोगीले आफ्नो जन्मसँग कालिञ्चोक देवीको महिमा जोडिएकोले महाकाव्य लेख्न पनि उनै देवीले नै उत्प्रेरित गरेकी बताउनुभयो । उहाँका यसअघि महाकाव्य ‘भञ्ज्याङ’ सहित अन्य आधा दर्जन काव्यकृति प्रकाशित छन् ।
लोकार्पित महाकाव्यको प्रकाशन सौजन्यमा श्रीमती भगवती घिमिरे र प्रकाशक ऐरावती प्रकाशन रहेका छन् ।

 

Comments are closed.