डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण

ललितपुर । कवि तथा गीतकार डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण गरिएको छ । ललितपुरमा एक विशेष समारोहबीच कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा उत्त कृतिको लोकार्पण गरिएको हो ।

कवि गीतकार गोपीकृष्ण प्रसाईंले कृतिको समीक्षा गर्नुभएको थियो । प्रमुख अतिथि मुकारुङले डम्बर यक्सो लिम्बूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह वा जटिल छैनन् भन्दै यी सरल, सुन्दर, सटिक र वोधगम्य रहेको धारणा राख्नुभयो । ‘यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ । बुद्धले मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण छ र निवारणमा पुग्ने बाटो छ भने । तर, बाटो अलग बताए । कवि डम्बर यक्सो लिम्बुज्यूले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरा कवितामा संकेत गर्नुभएको छ । अर्थात् संघर्ष नै जीवन हो भन्ने निश्कर्ष दिनुभएको छ’, उहाँले भन्नुभयो ।

वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई, वरिष्ठ संगीतकार दिनेशकाजी बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उपेती र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंकबहादुर चोबेगुले आ-आफ्ना भनाइ राख्दै स्रष्टालाई बधाई तथा शुभकामना दिनुभएको थियो । जीवन मुकारुङ संयोजन गर्नुभएको कार्यक्रमको सञ्चालन सुस्मिता यक्सो कन्दङ्वाले गर्नुभएको थियो ।

Comments are closed.