काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ ।
शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् ।
लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने “त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।”
कवि उमेश अकिञ्चनले कवि देवकी अभिलाषी कविमात्रै नभएर गीतकार र गायिका पनि रहेको र तामाङ सेलो ‘याम्बुको सहरमा’ देवकीले आफ्नै रचनामा रहेको शब्दलाई स्वरमा उतारेको खुलासा गरेका थिए । पत्रकार, समालोचक राजकुमार बानियाँले देवकी अभिलाषी कविताहरू समग्रमा अत्यन्तै राम्रो रहेको कुरा बताए । आफूलाई नेपाली भाषा पढाउने शिक्षकको अगाडि पुस्तक लोकार्पण भइरहेको सन्दर्भलाई जोड्दै कवि देवकी अत्यन्तै भावुक भएकी थिइन् ।
एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिकाद्वारा प्रकाशित कविता सङ्ग्रह आदिवासी भोकमा ४२ कविता छन् । उर्वरा फाउण्डेशनको आयोजनामा भएको कार्यक्रमको सभापतित्व उषा शेरचन र सञ्चालन बाबु त्रिपाठीले गरेका थिए ।
देवकी अभिलाषी बहिनी नेपाली राइटर एसोसिएसनकी सचिव, उर्वरा फाउण्डेशन नेपालको अध्यक्ष तथा उर्वरा पत्रिका प्रकाशक र प्रधान सम्पादक पनि हुन्
Comments are closed.