डीपी ढकालको ‘समाजवादी क्रान्तिको दुई चरण’ पुस्तक सार्वजनिक

डीपी ढकालको ‘समाजवादी क्रान्तिको दुई चरण’ नामक पुस्तक सार्वजनिक गरिएको छ। समाजवादी क्रान्ति पूरा हुन दुई चरण पार गर्नुपर्ने निष्कर्षसहित ढकालले किताब सार्वजनिक गरेका छन् । उनले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा पूरा हुने तर्क र तथ्य प्रस्तुत गरेका छन् ।
उनले पहिलो चरणमा ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद’ को बाटोमा अघि बढ्नुपर्ने तर्क गरेका छन् । ‘समाजवाद निमार्णको पहिलो चरण समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद निर्माण गर्नुपर्ने हुन्छ । जसअर्न्तगत उत्पादनको वृद्धि, उत्पादक शक्तिको विकास, राष्ट्रिय आयको समानताका आधारमा वितरण, राष्ट्रिय आय र बचतको वृद्धि र मौलिक हक र अधिकारको कार्यान्वयनमार्फत आधारभूत समानता कायम गर्ने हुनुपर्दछ’ ढकालको किताबमा छ ।
उनले उत्पादन वृद्धिको कार्यक्रम बनाउँदा सार्वजनिक क्षेत्रको नेतृत्वदायी भूमिका बनाउन योजनाबद्ध पहल लिनुपर्दछ । यो चरणको समय अवधि कति रहन्छ भन्नेकुरा देशको आर्थिक अवस्था, वर्गहरूको आन्तरिक शक्ति सन्तुलन र कम्युनिस्ट पार्टीको आत्मगत अवस्थाले निर्धारण हुने लेखेका छन् । ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवादको चरणमा छिटो पुग्ने र छिट्टै समाजवादको परिपक्व चरणमा समाजलाई लैजानमा कम्युनिस्टको हरदम कोसिस हुनुपर्दछ’ उनको दाबी छ ।
पहिलो चरणमा उत्पादकत्व वृद्धि, कृषि, जलस्रोत, वन पैदावर र जडिबुटी, खनिज, विज्ञान प्रविधि र आविष्कार, पर्यटनअन्तर्गत धार्मिक पर्यटन, हिम पर्यटन, जल पर्यटन, वन, सांस्कृतिक पर्यटनको विकासमा जोड दिएका छन् ।
उनले समाजवादी क्रान्तिको दोस्रो चरण अघि बढाउन समाजवादमा संक्रमणको महाभियान आवश्यक हुने तर्क गरेका छन् । ‘अर्थ राजनीतिको पहिलो चरण सफलतापूर्वक कार्यान्वयन गरिसकेपछि समाजवादमा संक्रमणको बलियो आधार निर्माण हुनेछ’ लेखकको तर्क छ, ‘समाजवादमा संक्रमणको आधार उत्पादन वृद्धि, आधारभूत समानता, बलियो राष्ट्रियता र सवल जनतन्त्रको जगमा टेकेर मात्र सम्भव हुनेछ ।’
उनले समाजमा समाजवादी विचारधाराको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रभुत्व स्थापित गर्ने काम पहिलो चरण पार गरेपछि दोस्रो चरणमा समाजवादमा संक्रमण बलप्रयोगद्वारा हुन्छ कि शान्तिपूर्ण भन्नेबारेमा त्यसबेला पैदा हुने शक्ति सन्तुलनले निर्धारण हुने जनाएका छन् ।

प्राध्यापक नरविक्रम थापाले वर्तमान विश्वको अर्थ राजनीतिक अवस्था, दक्षिण एसिया र नेपालको विगतदेखि वर्तमानसम्मको आर्थिक, राजनीतिक र सामाजिक अवस्थाको बारेमा मार्क्सवादी दृष्टिकोणबाट सटिक व्याख्या तथा विश्लेषण गरिएको उल्लेख गरेका छन् ।

Comments are closed.