कवि दिलीप श्रेष्ठको “नबनाएको घर” लोकार्पित

२०८१ असार १५, काठमाडौं ।

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले हिजो कवि दिलीप श्रेष्ठको लघुकविता सङ्ग्रह “नबनाएको घर”को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।
सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, विशेष अतिथि प्रा. डा. सुरेन्द्र के.सी. लगायतले सो कृतिको लोकार्पण गर्नुभयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले छुट्टै काव्य-शैली निर्माण गर्नसक्ने नै साँचो कवि हुने बताउँदै दिलीप श्रेष्ठ पृथक् शैली बनाइसकेका कवि भएको पुष्टि सङ्ग्रहका कविताले गर्ने बताउनुभयो । कविता लामोछोटो जस्तो भए पनि विचार, भाव र पृथक् शैली हुनुपर्ने उहाँको भनाइ थियो ।

इतिहासविद् प्रा.डा. सुरेन्द्र के.सी. ले साहित्यको इतिहासमा धेरै लेखकले विभेद भोग्नुपरेको यथार्थको चर्चा गर्नुभयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको समीक्षाका क्रममा दिलीप श्रेष्ठका कविता पढ्दा आफू सुखद आश्चर्यमा परेको बताउँदै कवितामा कविका विचार, अनुभूति र संवेदना अत्यन्त कलात्मक र पृथक् शैलीमा आएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “३० को दशकदेखि निरन्तर कविता लेखिरहेका, चारवटा सङ्ग्रह प्रकाशित गरिसकेका र आफ्नो शैली बनाइसकेका कवि मूलधारमा नदेखिनु दु:खद कुरा हो । उनी कतिपय प्रतिनिधि कविभन्दा पनि बलिया छन् ।”
कार्यक्रममा अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कवि ज्ञान उदास, भारतीय दूतावासका प्रतिनिधि सर्जक सत्येन्द्र दहिया, कृतिकार दिलीप श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कृतिकार दिलीप श्रेष्ठलाई सम्मान पनि गरिएको थियो भने लोकार्पित कृतिबाट साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ कवि ज्ञान उदास र कवि रिमा के.सी.ले कविता वाचन गर्नुभएको थियो ।
सोही कार्यक्रममा आफ्नो तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका भारतीय दूतावासका प्रतिनिधि सर्जक सत्येन्द्र दहियालाई विशेष सम्मानसहित बिदाइ गरिएको थियो । सर्जक दहियाले दूतावासमार्फत नेपालर भारतका सर्जकबीच साहित्यिक र सांस्कृतिक कार्यक्रमको लागि सेतुको काम गर्दै आउनुभएको छ । कार्यक्रममा उहाँको परिचय अध्यक्ष लेकाली गर्नुभएको थियो ।
सापस सचिव नीता श्रेष्ठको जन्मदिनको अवसरमा विशेष बधाई ज्ञापन गरिएको सो कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।
कवि दिलीप श्रेष्ठको यसअघि वि. स. २०५६ मा “जिन्दगीको यात्रा कहाँ रोकुँ” (केही कविता केही गीत), वि. स. २०७४ मा “रेल चढेपछि” (केही कविता केही गीत) र वि. स. २०७४ मा “खोलापारिकी आमा” कवितासङ्ग्रह प्रकाशित भैसकेका छन्।
कवि यादव भट्टराईले संचालन गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि दिवस, विशेष अतिथि के. सी., प्रमुख वक्ता प्रमोद प्रधान, कविहरू ज्ञान उदास, दिलीप श्रेष्ठ, सत्येन्द्र दहिया, नरेन्द्रबहादुर श्रेष्ठ, यादव भट्टराई, रिमा के. सी., रुद्र अधिकारी, नीता श्रेष्ठ, बुनु दाहाल, सुरेन्द्र श्रेष्ठ लगायतलाई अध्यक्ष लेकालीले मायाको चिनो प्रदान गर्नुभएको थियो

Comments are closed.