गजल कृति’नाद’को विमोचनसँगै गजल मुशायरा सम्पन्न

काठमाडौं । गजल कृति ‘नाद’को विमोचन गरिएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा एक विशेष समारोहबीच गजलकार भोजराज घिमिरेको उक्त कृतिको विमोचन गरिएको हो ।

घिमिरेको दोस्रो शास्त्रीय बहरबद्ध गजल कृति ‘नाद’माथि समीक्षकहरू भुवन निस्तेज र घनेन्द्र ओझाले टिप्पणी गर्नुभएको थियो । समीक्षक निस्तेजले ‘नाद’का गजलहरूमा विविध विषयभाव प्रस्तुत गरिएको भन्दै परिष्कृत र शिल्पयुक्त गजलहरू संग्र्रह गरिएको जिकिर गर्नुभयो ।

ओझाले गजलकार घिमिरेको जीवन, समाज, राजनीति, संस्कृति र प्रेमलाई हेर्ने दृष्टि र बुझ्ने कोण अलग भएको धारणा राख्नुभयो । हरेक विषय र सन्दर्भलाई प्रतिकात्मक र दार्शनिक तवरले प्रस्तुत गर्ने गजलकारको शैलीको ओझाले प्रशंसा गर्नुभएको थियो ।

गजलकार घिमिरेले गजल लेख्नु आफ्ना लागि नशा जस्तै भएको उल्लेख गर्दै गजलमा रमाउँदा आनन्द लाग्ने सुनाउनुभयो । अध्ययन, अभ्यास र परिष्कार कहिल्यै नसकिने बताउँदै घिमिरेले आफू सधैं परिष्कारका लागि तयार रहेको बताउनुभयो ।

सो अवसरमा गजलकार भोजराज घिमिरेका यी दुई गजल कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठले प्रत्यक्ष प्रस्तुत गर्नुभएको थियो । उहाँहरूको कर्णप्रिय धूनमा सुमधुर स्वरमा गुञ्जिँदा ‘वाह !’ वाही !!’ बटुल्न सफल भएको थियो ।

नेपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’को चौथो शृंखलाका सन्दर्भमा उक्त गजल गाइएको थियो । यस पटकको शृंखलामा गजलकारहरू भुवन बोहोरा ‘निस्तेज’, आर्य आयुषा र त्रुपकलाई प्रस्तुत गरिएको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मुशायरामा गजलकारत्रयले शास्त्रीय बहरबद्ध गजलहरू तरन्नुम र तहतमा वाचन गर्नुभएको थियो । नेपाली गजलको परिष्कार अभियानमा सक्रिय प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत गजल प्रशिक्षण गर्दै आएको छ भने समयसमयमा सांगीतिक गजल मुशायरा पनि गरिरहेको छ । यसअघि गत १७ चैतमा प्रतिष्ठानले ‘बृहत् सांगीतिक गजल गुञ्जन’ सम्पन्न गरिसकेको छ । यस्तो बृहत् सांगीतिक गजल गुञ्जन हरेक वर्ष चैतमा गरिने बताइएको छ ।

Comments are closed.