ध्रुव घिमिरेको बाल चित्रपुस्तक ‘रानीपोखरी’ लोकार्पण

काठमाडौं । ऐतिहासिक विषयवस्तु आधारित बाल चित्रकथा ‘रानीपोखरी’को विमोचन गरिएको छ । काठमाडौंको चाँदबाग स्कुलमा’ चांदबाग साहित्य महोत्सव २०८१’को कार्यक्रममा स्कुलका प्रिन्सिपलसहित पुस्तकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।

रानीपोखरी निर्माण कसरी भयो भन्ने इतिहासलाई बालबालिकाले बुझ्ने गरी सरल भाषा र आकर्षक चित्रसहित प्रस्तुत गरिएको छ ।

पुस्तकको कथासार छ — रानी राजमती अचानक हराएपछि हनुमानढोका दरबारमा खैलाबैला मच्चिन्छ । तुरुन्तै यो खबर राजा प्रताप मल्लकहाँ पुग्छ । आफ्ना अंगरक्षकसँग राजा सरासर खेत र कुलो छिचोल्दै सुनासान ठाउँमा पुग्छन्, जहाँ रानी रोइरहेकी हुन्छिन् । छोरा चक्रवर्तीन्द्रको समाधिस्थलमा आँसु बगाइरहेकी रानीलाई राजाले सम्झाउँछन् र प्रण गर्छन् – म आफ्नी रानीको सपना पूरा गर्छु । यसरी पोखरी निर्माण हुन्छ, जहाँ गंगाजलदेखि विभिन्न पवित्र नदी तथा तिर्थस्थलका जल ल्याएर मिसाइन्छ । पोखरी छेउमा हात्तीमा राजा, रानी र चक्रवर्तीन्द्र चढेको मूर्तिसमेत देखेपछ रानी प्रसन्न हुन्छिन् ।

ध्रुव घिमिरेले लेखेको पुस्तकलाई भिक्टर प्रधानले सम्पादन गरेका हुन् भने यसमा तारा तामाङका चित्र छन् । कुनै पनि बेला नाश हुन सक्ने मानव शरीरप्रतिको बुझाइदेखि वियोगमा सधैं शोकमात्र गर्नुहुन्न भन्ने कुरा पुस्तकमा छ । ऐतिहासिक विषयवस्तु भएकाले यो पुस्तकले बालबालिकामा इतिहासप्रतिको रुचि र तिथिमिति सम्झन पनि सहयोग गर्नेछ ।
२० पृष्ठ रहेको पुस्तकका मूल्य २९० रुपैयाँ राखिएको छ ।

Comments are closed.