कमला हेमचुरीको ‘ब्राम्हणवादविरुद्ध बुद्ध र अम्बेडकर’ पुस्तक लोकार्पण

समाजसेवी, लेखक एवम् सामाजिक रुपान्तरणकी अभियन्ता कमला हेमचुरीद्वारा लिखित ‘ब्राम्हणवादविरुद्ध बुद्ध र अम्बेडकर’ पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ । पुस्तक विमोचन तथा समीक्षा कार्यक्रमका प्रमुख अतिथि, विश्वशान्ति विहार काठमाडौंका प्रमुख निग्रोध भन्तेलगायत समीक्षक अतिथिहरुबाट संयुक्तरुपमा पुस्तक सार्वजनिक गरिएको हो ।
लेखक हेमचुरीले पुस्तक लेखनको सार बताउँदै भनिन्, ‘२०७२ सालमा संविधान जारी हुनुअगाडि बुद्धनगर, काठमाडौंमा प्रहरीसँगको झडपमा प्रहरीले खुट्टा भाँचिदिएपछि पूरा एक वर्ष ओछ्यानमा थला परेँ । त्यही बेला मैले बुद्ध र अम्बेडकरको बारेमा पढेँ । त्यसले मलाई साह्रै प्रभावित बनायो र मेरो बौद्धदर्शनमै स्नात्तकोत्तरको शोध–पत्रलाई विकसित र परिमार्जन गरेर पुस्तकको स्वरुप दिएकी हुँ । यो पुस्तकले महामानव बुद्धको दर्शन र समाजवादी चिन्तक डा. भीमराव अम्बेडकरको समाज रूपान्तरणको योगदानलाई बुझ्नको लागि आँखीझ्यालको काम गर्ने विश्वास लिएकी छु ।’
समाजशास्त्री एवम् समीक्षक डा. मित्र परियारले एसिया र नेपालको हिन्दू वर्णव्यवस्थाको बारेमा बुझ्न पुस्तक अत्यन्तै उपयोगी हुने बताए । त्यतिमात्रै होइन, हिन्दू ब्राम्हणवादी चँगुलबाट मुक्तिका लागि समेत पुस्तक फलदायी हुने कुरा व्यक्त गरे ।
अर्का समीक्षक पूर्व सचिव डा. मानबहादुर विश्वकर्माले पुस्तकको शीर्षक नै काफी रहेको बताए । उनले थपे – ‘अहिले म आफैँले समेत बुद्धकालीन प्राचीन गणराज्य, आर्थिक–सामाजिक प्रणाली र समाजविकास बारेको पुस्तक सम्पादनका क्रममा बुद्धको बारेमा धेरै जानकारी प्राप्त गरेको छु । पछिल्लो राष्ट्रिय जनगणना २०७८ मा गणकले नसोधीकन हिन्दूधर्ममा चिन्ह लगाइदिइएका थिए । तर मैले गणकलाई पुनः सच्चाउन लगाएर बौद्धधर्ममा चिन्ह लगाउन लगाएँ ।’
अर्का समीक्षक तथा पूर्व राष्ट्रिय महिला आयोगकी सदस्य धनकुमारी सुनारले वर्तमान माक्र्सवादी वर्गीय रटान र रुझानले ग्रस्त राजनीतिमा पुस्तक ठूलो तलाउमा एक ढुंगा प्याँकेजस्तै तरंग पैदा गर्ने विचार व्यक्त गरिन् । उनले थपिन् – ‘लेखक आफैंमा जुझारु र समाज रुपान्तरणकी अग्रज भएकीले यस अभियानमा अझै ठूलो मद्धत गर्नसक्छ ।’
थेरावाद एकेडेमी शान्तिनगर काठमाडौंका प्रमुख एवम् समीक्षक डा. महेन्द्ररत्न शाक्यले बुद्धधर्म, अम्बेडकर विचार र उहाँहरुले ब्राम्हणवादको उत्पीडनमाथि गर्नुभएको संघर्षगाथा पुस्तकमा चर्चा गरिएको बताए । उनले भने– ‘ब्राम्हणवाद कुनै समुदाय नभएर एउटा विचार र दर्शन हो । यो अक्सर सबै जाति, समुदायमा केही न केही मात्रामा रहेको हुन्छ ।’
त्यसैगरी अर्का समीक्षक, पूर्वमन्त्री थेरावाद बौद्ध विद्धान् डा. केशवमान शाक्यले पुस्तक अत्यन्तै सन्तुलित, समसामयिक, पठनीय, तर्कपूर्ण र सिलसिलेवार रहेको बताए । उनले भने, ‘यो पुस्तक थेरावाद बौद्धदर्शनमा आधारित छ । यसलाई अर्ली बुद्धिज्जम पनि भनिन्छ । बुद्धले प्रदान गर्नुभएको सबै शिक्षा पालि भाषामा छन् । माक्र्सवादले (ःबततभच) पदार्थ वा भौतिकवादको मात्रै कुरा गर्छ । तर बुद्धले चेतना र पदार्थ (ःष्लम बलम ःबततभच) दुवैको कुरा गरेका छन् । पदार्थ वा भौतिकवादले वस्तुको मात्रै कुरा गर्दछ तर नैतिकता, शील, ज्ञान र प्रज्ञाको कुरा गर्दैनन् । तर बुद्धले पदार्थसँगै नैतिकता, शील, ज्ञान र प्रज्ञाको कुरा गर्ने भएकोले माक्र्सवादभन्दा बुद्धवाद पूर्ण र वैज्ञानिक छ । त्यसैले माक्र्सवादी भजाउने तर जति भ्रष्टाचार र अपराधमा डुबे पनि केही नहुने भएको कारण यही हो । भारतमा अम्बेडकरले गर्दा समाजमा ठूलो मनोवैज्ञानिकरुपमा परिवर्तन भएको छ । त्यो परिवर्तन बुद्धधर्म र दर्शनले गर्दा नै संभव भएको हो ।’
लेखक तथा अध्ययेता डीबी नेपाली ‘दमु’ ले जनजाति–आदिवासी भनिने समूह राज्यले हिन्दुकरण गर्यो भन्दै प्रकृतिपूजा, मूर्तिपूजा र बलीप्रथामा रमाइरहने र कथित दलित भनिने समूहलाई हिन्दूधर्मले स्वीकार नै नगरेको र चरम हिंसा, उत्पीडन जारी रहँदासम्म बाहिर ननिस्कने कारणले गर्दा नै बौद्धधर्म दर्शनको विस्तार रोकिएको धारणा राखे । उनले भने, ‘यी दुई समूहले जतिसक्दो छिटो आफ्नो पुरानो पुख्र्यौली बौद्धधर्मलाई अँगाल्न सक्छन्, त्यति नै छिटो बौद्धधर्म विस्तारले गति लिनसक्छ ।’ यसो भएमा करिब डेड दशकभित्रै नेपाल बौद्धराष्ट्रमा उक्लन सक्ने दमुले बताए ।
पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष निग्रोध भन्तेले भने, ‘सबै विद्यार्थीले शोध–पत्र सम्पन्न गर्छन् । तर पुस्तककै रुपमा विकास गर्ने थोरै हुन्छन् । तिनै थोरै मध्येकी लेखक हेमचुरी एक हुन् ।’ लेखकले पुस्तकको स्वरुप दिन धेरै मेहनत गरेकोमा बधाई तथा शुभकामनासमेत भन्तेले दिए ।
पुस्तकभित्र सातवटा विभिन्न शीर्षक–उपशीर्षक र उपसंहारमा अम्बेडकर र बुद्धधर्मको बारेमा सारसंक्षेपीकरण तर पूर्णतामा विवेचना र विश्लेषण गरिएको छ । जसमा–हिन्दू धर्म र वर्णव्यवस्था, कथित अछुतहरु र अछुतपनाको सैद्धान्तिक अवधारणा, नेपालमा जातप्रथाको बीजारोपन, विकास र कथित अछुतहरुको वर्तमान अवस्था, बुद्धको संक्षिप्त जीवनी र प्रमुख उपदेशहरु, शूद्रहरुको उत्थानमा बुद्धको योगदान, भारतमा कथित अछुतहरुको उत्थानमा अम्बेडकरको भूमिका र नेपाली कथित अछुतहरुमा बुद्ध धर्मको प्रभाव शीर्षकमा क्रमबद्ध पुस्तकलाई व्यवस्थित गरिएको छ ।
सोपान प्रेस प्रा.लि. डिल्लीबजार, काठमाडौंमा छापिएको पुस्तक सोसाइटी बुक्स नेपाल, गोदावरी ललितपुरले प्रकाशन गरेर बजारमा ल्याएको हो । कृष्ण गजमेरले आकर्षक आवरण साजसज्जा र डिजाइन गरेको दुई सय पृष्ठको पुस्तकको मूल्य रु ३०० रहेको छ ।

 

Comments are closed.