कामना मानन्धरको लघुकथासंग्रह विमोचन

काठमाडौँ / कथाकार कामना मानन्धर लिखित लघुकथासंग्रह नस्वाःगु स्वाँ (सुगन्धित फूल) एक समारोहका बीच सार्वजनिक गरिएको छ । कुतः पिकाकको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि डा. निर्मला मानन्धर प्रधानले सो कृति विमोचन गर्दै लेखिकाले साहित्यिक सिर्जनामार्फत आफू बाँचिरहेको समाजको चित्रणलाई उजागर गर्ने प्रयास गरेको बताउनुभयो ।

विमोचित कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै कथाकार दिव्या ताम्राकारले कामनाका कथाहरुमा नारीहरुको समस्या र जीवनमा बाँच्नको लागि संघर्ष गर्नुपर्ने सन्देशलाई प्रस्तुत गरिएको बताउनुभयो ।

वरिष्ठ कथाकार तथा लेखिकाका पिता मथुरा साय्मीले लेखनको क्षेत्रमा कामनाको प्रयासले आफूलाई खुशी लागेको र यसले उनलाई जीवनप्रतिनो बिंडो थाम्ने विश्वास व्यक्त गर्नुभयो ।

पिकाकका अध्यक्ष कथाकार विमल ताम्राकारले संग्रहमा भएका कथाहरु पढेपछि लेखिकाको समाज र भोगाइबारे पाठकहरुले सहजै अनुमान गर्न सक्नेछन् भन्नुभयो ।

लेखिका कामनाले लेखनको क्षेत्रमा आफूलाई सबैबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्रष्टाहरू ध्रुव मधिकर्मी, राज सायमी, दिव्या बज्राचार्य, रीता महर्जन, रामेश्वर मिश्रण, ज्ञानीकाजी मानन्धर, विमला मानन्धर लगायत विविध क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।

Comments are closed.