नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पुरस्कारहरूको घोषणा

काठमाडौं । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा विभिन्न सर्जकहरूलाई पुरस्कृत गर्दै आएको संस्था नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारणसभाले ‘नूर–गङ्गा प्रतिभा पुरस्कार’हरूको निर्णय गरेको छ ।

बिहीबार राजधानीमा सम्पन्न साधारणसभाले लोकगायन तर्फको ‘नूर–गङ्गा राष्ट्रिय लोकगायन पुरस्कार’ लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको जनाइएको छ ।

सोही साधारणसभाले लोकगायनतर्फ ‘नूर–गङ्गा क्षेत्रीय नव प्रतिभा पुरस्कार’ लोकगायक कुशल बेलवासे (अर्घाखाँची) लाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै ‘बालसाहित्य राष्ट्रिय प्रतिभा पुरस्कार’ बाल साहित्यकार सोइना दाहाल (मोरङ) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ‘नूर–गङ्गा क्षेत्रीय साहित्य पुरस्कार’ अनुवादक तथा साहित्यकार रामबहादुर पहाडीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

साधारणसभाले पुरस्कार उपसमितिद्वारा सिफारिस गरिएका व्यक्तित्वहरूमध्ये तीन सर्जकहरूको नाम अनुमोदन गरेको हो ।

उक्त कार्यक्रममा प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. गोविन्द नेपाल, विदुषी राणा, रामबाबु नेपाललगायतले बोलेका थिए । साधारणसभामा विभिन्न प्रतिवेदनहरू पनि पारित गरिएको थियो ।

Comments are closed.