शम्भु कोइरालाको ‘नमागिएको सल्लाह’ सार्वजनिक

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव तथा लेखक शम्भु कोइरालाको लेखहरूको संग्रह ‘नमागिएको सल्लाह’ को शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको छ । प्राडा. कुमार कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा पुस्तकका लेखक कोइरालाले कार्यक्रमको सुरुमा स्वागत मन्तव्य तथा लेखकीय विचार स्वयंले राख्नुभएको थियो ।

उहाँले आफूले उक्त पुस्तक लेख्दाको सन्दर्भ बताउँदै लोकतन्त्र र मानवअधिकारको जगेर्नाका सन्दर्भमा पूर्वाग्रह राखिएको भए तापनि यीबाहेक अन्य सन्दर्भमा आफूले कुनै पूर्वाग्रह नराखी निष्पक्ष ढंगले लेख्दै आएको विचार व्यक्त गर्नुभयो । आफूले स्वान्न सुखायका लागि लेखेको तर यसबाट अरूलाई समेत फाइदा पुग्न सक्यो भने त्यो आफ्ना लागि गौरवको विषय भएको धारणा उहाँले राख्नुभयो ।

नेपाल सरकारका पूर्वसचिव, राजदूत तथा लेखक मधुरमण आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हिमालय टाइम्सका प्रधान सम्पादक तथा प्राध्यापक पुरुषोत्तम दाहालले कृति रचना गर्नु भनेको बाँकी जीवन बाँच्नका लागि हो भन्नु हुँदै कोइराला हिमालय टाइम्स दैनिक पत्रिकाको साप्ताहिक स्तम्भकार समेत हुनुभएको र सोही पत्रिकामा छापिएकै लेखहरूको संग्रह पुस्तक भएकोमा प्रकाशनको तर्फबाट गौरवको अनुभूति भएको विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको आयोजकसमेत हिमालय टाइम्स रहेको थियो । दाहालले यस पुस्तकमा विविध क्षेत्रका अनेकौं विषय समेटिएका छन् भन्दै उहाँका आलेखहरूले राष्ट्रवाद राष्ट्रियता, संस्कृतिलगायत कुराहरूलाई समेटेका छन् भन्नुभयो । यसका साथै उहाँले कोइरालाको लेखनको निरन्तरताको कामनासमेत गर्नुभयो ।

दीपज्योति थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा.कुलप्रसाद कोइरालाले लेखकीय स्वतन्त्रता अझै प्राप्त भइनसकेको अवस्थामा शम्भु कोइरालाको लेखकीय शिष्टताको प्रशंसा गर्नुपर्छ भन्नुहुँदै उहाँबाट अझै उत्कृष्ट व्यञ्जनार्थक लेखनको आग्रह गर्नुभयो । नेपाल सरकारका पूर्वसचिव तथा साहित्यिकार गोपीनाथ मैनालीले पदमा भएका बेला काम गर्ने हो र पदबाहिर रहेर नमागिएको सल्लाह दिने हो भन्नुहुँदै लेखकले आत्माश्लाघा लेख्नु नहुने विचार व्यक्त गर्नुभयो ।

आफ्ना बारेमा लेख्नेले आफूलाई न्याय गर्न सक्नुपर्छ भन्नुहुँदै सनातिना परम्परागत बाटोबाट माथि उठेर चुनौतीको सामना गर्न सक्ने गरी लेख्नुपर्छ भन्ने धारणा मैनालीले राख्नुभयो । ग्रीनलिफ फुड पुतलीसडकमा आयोजित उक्त कार्यक्रममा कार्यक्रमा प्रमुख अतिथि पूर्वराजदूत तथा साहित्यकार मधुरमण आचार्यले आफूले गरेका काम ऐन मौकामा सार्वजनिक नगर्ने हो भने त्यो काम नगरे बराबर हुने भएका कारण गरेका कामहरूका बारेमा पनि लेख्नुपर्छ तर आत्मप्रशंसादेखि जोगिनुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो । उहाँले अर्को पुस्तालाई जानकारी दिन पनि पहिलो पुस्ताले लेख्नै पर्ने तर त्यस्तो लेखनमाथि कसैले पनि औंलो नउठाउने गरी लेख्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको अन्त्यमा सभापति प्राडा.कोइरालाले लेखक प्रशासन क्षेत्रको मानिस भएका कारण विभिन्न विषयलाई उहाँले आफ्नै दृष्टिकोणबाट हेर्नुभएको छ भन्नु हुँदै उहाँलाई निरन्तरताका लागि शुभकामना पनि दिनुभयो । लेखक कोइराला हिमालय टाइम्स राष्ट्रिय दैनिका स्तम्भकार भएका कारण छिटै उहाँका यस दैनिकमा प्रकाशित लेखहरूको दोस्रो संग्रहसमेत प्रकाशित हुने जानकारी दिइएको थियो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/03/210879/

Comments are closed.