सुवेदीको महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण

काठमाडौं । ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले उक्त पुस्तक लोकार्पण गर्दै विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा.सूर्य सुवेदी हुनुहुन्छ ।’

आफू पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारतको भ्रमणमा जानुअघि दुई देशबीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा.सुवेदीले पठाएको सुझावप्रति आफूसँग अझैं सुरक्षित रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘मेरो भ्रमणपछि सन्धि पुनरवलोकनको कुरा संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडि बढ्न सकेको छैन’, उहाँले भन्नुभयो ।

विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा.सूर्य सुवेदी पनि हुनुहुन्छ । ‘प्रा.सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकसँग गरिएका सन्धि सम्झौताहरूको पुनरवलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो । पछिल्लो एमसिसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले लागू पनि गर्‍यौं । तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले डा.सुवेदीको बौद्धिकताबाट नेपालका सबै राजनीतिक दलहरू प्रभावित रहेकोसमेत बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौताको बेला पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले डा.सुवेदीको कानुन क्षेत्रको विज्ञताबाट लाभ लिएको सुनाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा हितमा हुने कुनै पनि अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्नुपर्दा उहाँको सुझाव धेरै उपयोगी हुने बताउनुभयो । उहाँले ‘प्रा.सूर्य सुवेदी : महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकले युवा पुस्तालाई आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाकी पूर्वउपसभामुख पुष्पा भुसालले प्रा.सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । लक्ष प्राप्तिका लागि सुवेदीले गरेको मिहिनेत सबैका लागि उदाहरणीय भएको उहाँले बताउनुभयो । विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा.सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने भुसालको भनाइ थियो ।

पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाइरहेको बताउनुभयो । ‘हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौं, मुख्य कुरा त्यो हो’, उहाँले भन्नुभयो । शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध गर्‍यौैं, तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन । हामीले निर्वाचन पद्धतिलाई बदल्नुपर्छ र अगाडि बढ्नुपर्छ । उहाँले प्रा.सुवेदीले आफूसँग भएका अन्तर्राष्ट्रिय कानुनसम्बन्धी दुर्लभ ग्रन्थहरू नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गर्नुभयो ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा.सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा आफूले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफू सधैं तत्पर रहेको बताउनुभयो । पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेलले लेखेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो । कार्यक्रमको सञ्चालन बुक हिलका प्रकाशक कवि तथा पत्रकार भूपेन्द्र खड्काले गर्नुभएको थियो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/03/211165/

Comments are closed.