पंचम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण

काठमाडौं । आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् ।

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’
त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए ।

‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको छ ।’

त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ ।’

यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ । प्रवासीको देश हुन्न संग्रहमा १४ वटा कथा समावेश छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

Comments are closed.