अङ्ग्रेजी साहित्यमा सक्रिय तथा शिक्षण पेसामा क्रियाशील राजेन्द्र ओझा ‘नयन’ द्वारा लिखित कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’को सार्वजनिक गरिएको छ । नेपाली साहित्यतर्फ ‘नयन’ को ‘अभिलाषाका झारहरू’ पहिलो कृति हो ।
शनिबार काठमाडौंमा आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक थलोको रूपमा रहेको प्रज्ञा–प्रतिष्ठानबारे शिक्षकहरू नै अनभिज्ञ हुनु दुःखद रहेको बताए । उनले शिक्षकहरूलाई प्रज्ञा–प्रतिष्ठानजस्तो प्राज्ञिक थलोबारे जानकार नहुनुले प्रतिष्ठानको औचित्यमाथि प्रश्न उठेको बताए ।
अक्षरको खेतीतिर लाग्ने व्यक्तिले लोभ नपाल्ने भएकाले कुनै पनि कवि तथा लेखकलाई खराब काम गर्नबाट ऊभित्रको अर्को मान्छेले रोक्ने राईको भनाइ थियो । त्यसैले अक्षरको महत्त्वबारे सानै उमेरबाट सिकाउनुपर्ने आवश्यकता महसुस गरेर गत वर्षदेखि विद्यालयहरूमा कुलपति कार्यक्रम सञ्चालन गर्न थालिएको उनले बताए ।
लेखक तथा समालोचक महेश पौड्यालले विभिन्न फोरमहरूमा राजेन्द्र र आफूले संयुक्त रूपमा कविता वाचन गरेको, कति कविता वाचन प्रतियोगितामा संयुक्त रूपमा निर्णायकको भूमिका निभाएको र आफूले कवि नयनभित्र प्रचुर मात्रामा कवित्व भेटेको र मनोविश्लेषण गर्न मिल्ने विषय ‘अभिलाषाका झारहरू’ मा संगृहीत रहेकाले उनी मनोविश्लेषक कवि भएको बताए ।
नयनले ‘अभिलाषाका झारहरू’ मार्फत मनोभावलाई सूक्ष्म विश्लेषण गरेकाले यस संग्रहले आफ्नो चैतन्य जागरण हेतु आफ्नो मनलाई बुझ्नसमेत सहयोगी बन्न सक्ने उनको भनाइ थियो ।
Comments are closed.