राम केएसीको नेपाल भाषा र नेपाली भाषामा एउटै कवितासङ्ग्रह “अर्धब्रह्म” सार्वजनिक

काठमाडौँ­ नाट्यकर्मी तथा कवि राम केएसीकृत कविता सङ्ग्रह “अर्धब्रह्म” विमोचन गरिएको छ। कविको मातृभाषा नेपालभाषा र नेपालीभाषा दुबै भाषामा प्रकाशित कविता सङ्ग्रहको वरिष्ठ साहित्यकार तथा पत्रकारहरुको समूहद्वारा सोमबार दरवारमार्गमा सामुहिक विमोचन गरिएको हो।
वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”, वरिष्ठ कथाकार ध्रुव मधिकर्मी, पत्रकार कुमार रञ्जित, लेखक अभय श्रेष्ठ र सद्भाव थिएटरका अध्यक्ष टीकाराम जिरेलबाट संयुक्त रुपमा विमोचन गरिएको कार्यक्रम कविका हजूरआमा ७९ वर्षीया मंगलमाया श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। सद्भाव थिएटरद्वारा प्रकाशित पुस्तकमा ३७ वटा कविताहरु दुबै भाषामा छापिएका छन्।

काठमाडोँको बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १३ स्थित तुप्या, चुनिख्यः, गाम्चा, सापाटार र कौडोल क्षेत्र प्राचीन नेवाः बस्तीमा जन्मेर हुर्केका कवि राम केएसीले नाट्य र कविता दुबै विधामा राम्रै प्रतिभा देखाएका छन्।
झण्डै दुई सय पृष्ठको कविता सङ्ग्रहमा प्रत्येक कविताकासाथ एकै धर्काबाट बनाइएका रेखाचित्रहरु पनि प्रयोग गरिएका छन्, जुन आफैँमा आकर्षक बनेको छ। लक्ष्मी वैद्यको ले–आउट सुन्दर देखिन्छ भने छपाई पनि राम्रै देखिएको छ।

Comments are closed.