सेलिङ बाबु र छोरीका दुई कृति एकैसाथ लोकार्पण

काठमाडौँ — बुवा भिमकुमार सेलिङको इतिहाससम्बन्धी ‘ओयाम दर्पण’ र छोरी गीतकार तथा लेखक लीला सेलिङ माबोको कविता कृति ‘सेप्म्माङ्लक’ एकैसाथ सार्वजनिक भएको छ । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा गरेको समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् बैरागी काँइलाले पुस्तक सार्वजनिक गरेका हुन् ।
पाँचथरको याङ्वरक ३, ओयामका शिक्षा क्षेत्रमा चार दशकभन्दा बढी शिक्षण गरेका अवकाशप्राप्त शिक्षक हुन् । उनको यसअघि ‘शिक्षामा चौवालीस वर्ष’ पुस्तक प्रकाशित छ ।
यसैगरी लीला सेलिङको यसअघि ‘लाहुरेनी पीडा’ कवितासंग्रह, ‘मेम्मोवाज अफ ए गोर्खा वाइफ ड्युरिङ लकडाउन’ (बायोग्राफी) कृति प्रकाशित छन् । उनले सिर्जना गरेका नेपाली भाषा तथा लिम्बू भाषामा आधा दर्जन गीत रेकर्ड भइसकेका छन् । जसमा ‘सिमाना’ आधुनिक गीत निकै चर्चामा रहेको छ ।
बेलायतमा बसोबास गर्दै आएकी लीला ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ बेलायतको वरिष्ठ उपाध्यक्ष, रसमुर हेल्थी लिभिङ बोर्ड टस्टी डाइरेक्टरलगायत विभिन्न संघ संस्थामा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ सरीबाट एमएस्सीसमेत गरेकी छन् । पाँचथर जिल्लाको ओयाम–६ (हाल याङ्वरक–३) मा जन्मिएकी युकेमा दन्त नर्सको रूपमा कार्यरत छिन् ।
आयोजक समितिका अध्यक्ष सनी लिम्बुको अध्यक्षता रहेको समारोहमा विशिष्ट अतिथि कवि श्रवण मुकारुङ, प्राज्ञ अमर तुम्याहाङ, लिम्बु लेखक यहाङ लाओती, लेखक तथा पत्रकार जीके पोखरेल, लेखक डिल्लीराम पोखरेल, साहित्यकार सन्दीप राईले कृतिको चर्चा गरेका थिए ।

यस्तै मदन पुरस्कार प्राप्त इतिहासविद् भगिराज इङ्नाम, नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पा, जनता समाजवादी पार्टीका नेता खगेन्द्र माखिम, किरात याङ्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्राध्यापक प्रेम यक्तेन, नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीलगायत सहभागी थिए ।

Comments are closed.