काठमाडौँ । चिरन्जीवी वाग्लेले लेखेको पुस्तक ‘बहादुर शाह’ प्रकाशन भएको छ। लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्लेले गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेखेका हुन्। स्वयं लेखक पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन् ।
नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् ।
‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु ।’
लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् ।
‘बहादुर शाह’ले नेपा~लयको ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । यसअघि योगेश राज लिखित ‘रणहार’ उपन्यास नेपा~लयबाटै प्रकाशित छ, जुन भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल केन्द्रित आख्यान हो ।
तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ छ । यो उपन्यास मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।
‘बहादुर शाह’ लाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।
Comments are closed.