भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ र युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’सार्वजनिक

काठमाडौँ । नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी उदीयमान युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ भव्य समारोहबीच विमोचन भएको छ ।

पर्वतीय साहित्य समाज नेपाल तथा पेज टर्नर प्रालिको संयुक्त आयोजनामा बानेश्वर क्याम्पसको सभाहलमा भएको उक्त कार्यक्रम वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाकक्षमा उपस्थित सम्पूर्ण साहित्यकारद्वारा दुवै कृतिको विमोचन गरिएको थियो ।

पर्वतीय साहित्य समाजका अध्यक्ष प्रतीक ढकाल सञ्चालन गर्नुभएको कार्यक्रममा गङ्गाधर अर्याल, अरुण अर्याल, नीमा डोमा, साहित्यकार पवन आलोक तथा रञ्जु दहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विमोचित कृति आकाश ओढेको डोल्पोमाथि प्राडा. सावित्री मल्ल कक्षपतीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘आकाश ओढेको डोल्पो’ ले नियात्राले लेखनको सिद्धान्तलाई अझै व्यापक र बहुआयामिक बनाउन सहयोग गर्ने बताउनुभयो । डोल्पाको भूगोल, संस्कृति, पर्वतीय वैभवका अलावा भावना, कल्पना र संवेदनाका नवीनतम रसस्वादन गराउने विश्वास लिएको कुरा कक्षपतीको मन्तव्यमा अभिव्यक्त भएको थियो ।

यसरी नै ‘फूलबारीको जुके गणतन्त्र’ माथि समीक्षात्मक मन्तव्य व्यक्त गर्दै साहित्यकार अनिता कोइरालाले आस्था भट्टराई युवा हुन् तर उनको लेखनीमा अनुभवको ताउलोमा खारिएर उम्रिएका दर्शनका पङ्क्तिहरू भेट्न सकिन्छ । उनको कलममा समाज, परिवार र देशप्रतिको बेजोड प्रेम छ । नेपाली सभ्यता, संस्कृति, वैभव र हिमालप्रतिको उच्च श्रद्धा छ र आस्थालाई पढ्ने पाठकको हृदयमा पनि यी तमाम कुराको बीजारोपण गर्न सक्ने ल्याकत पनि छ ।

विमोचन कार्यक्रममा सगरमाथा आरोही नीमा डोमाले पनि यी दुवै कृतिकारलाई सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रम सञ्चालनको क्रममा वरिष्ठ साहित्यकार प्रतीक ढकालले हिमालका रोचक प्रसङ्गहरू प्रस्तुत गर्दै हिमालप्रतिको हार्दिक अनुराग व्यक्त गरिरहेका थिए ।

कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देलले उपस्थित सबैलाई धन्यवाद दिँदै सभाको समापन गरेका थिए ।

Comments are closed.