पाल्पामा भव्य रूपमा ‘सिर्जना उत्सव’ सम्पन्न

नेपाली कला साहित्य डट कम प्रतिष्ठानको आयोजना र पाल्पा साहित्य समाजको सह–आयोजनामा पाल्पाको तानसेनमा भव्य रूपमा ‘सिर्जना उत्सव’ सम्पन्न  सम्पन्न भएको छ ।

र्काितक १८ गते आइतबार, प्रतिष्ठनका अध्यक्ष मोमिला जोशी तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको संयुक्त अध्यक्षतामा आयोजित उक्त उत्सवमा वरिष्ठ संस्कृतिविद् तथा  कवि तुलसी दिवस प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।  भने विशिष्ट अतिथिका रूपमा साहित्यकारहरू सरुभक्त, अशेष मल्ल, डा विमल कोइराला, सावित्री मल्ल कक्षपती, लक्ष्मण गाम्नागे तथा डा हरिप्रसाद मानसाग्नि थिए ।

सिर्जना र सद्भाव मूल मन्त्रसहित १५ वर्षे रोडमेप लिएर कलासाहित्य क्षेत्रमा होमिएको नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको नियमति कार्यक्रममध्येको एक यस सिर्जना यात्रामा  ‘मेरो राष्ट्र मेरो ध्येय’ लाई मूल मन्त्र बनाई सिर्जना उत्सव सम्पन्न गरियो ।

यस उत्सवमा फोटोकवि सुन्दर बस्नतेलले  ‘मेरो राष्ट्र मेरो ध्येय’ शीर्षकमा दृश्यचित्र प्रस्तुत गर्नुभएको थियो भने कविहरू तुलसी दिवस, सरुभक्त, डा विमल कोइराला, अशेष मल्ल, विमल बैद्य, राजेश्वर कार्की, डा कृष्णराज डीसी, डा। हरिप्रसाद मानसाग्नि, लक्ष्मण गाम्नागे र अमीम सागर, तथा स्थानीय कविहरू चित्रवलीराम सुवाल, महेन्द्र पन्थी, पुरुषोत्तम अर्याल, सबिता भट्टराई, कमल खत्री, हरि भट्टराई, टङ्क भट्टराई, युवराज पौड्याल, प्रेमराज खराल, रामप्रसाद अर्याल, चन्द्रकान्त न्यौपाने तथा इन्दिरा ज्ञवाली पौड्यालले कविता वाचन गरेका थिए । कार्यक्रममा पत्रकारहरू जयदेव भट्टराई र सिर्जना दुवाल तथा साहित्यसेवी अनीता कोइराला र ईश्वरी सिलवालको विशेष उपस्थिति थियो ।

यसै कार्यक्रमको अवसरमा पाल्पामा रहेर साहित्य र संस्कृतिको सेवामा समर्पित स्रष्टा राजेन्द्रगोपाल सिंहलाई ग्रेगरी कलासाहित्य पुरस्कार तथा स्रष्टा पुष्कर अथक रेग्मीलाई योगेश्व वाङ्मय पुरस्कारद्वारा सम्मानित गरिएको थियो । उनीहरूद्वारा संयुक्त रूपमा लिखित पुस्तक ‘पाल्पाली साहित्यको इतिहास’ को पनि यसै कार्यक्रममा लोकार्पण गरिएको थियो । पुरस्कृत स्रष्टाका बारेमा समालोचक प्राडा सावित्री मल्ल कक्षपतिले परिचयात्मक मन्तव्य राखेकी थिइन । भने विमोचित पुस्तकमाथि समालोचक दीपक बस्यालले समीक्षा गरेका थिए ।

कार्यक्रमको ध्येयमाथि विशेष मन्तव्य प्रस्तुत गर्दैै समालोचक महेश पौड्यालले नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत १५ वर्षमा देश र विदेशमा गरेका उल्लेखनीय काम, कार्यक्रम, अनुवाद, प्रकाशन, सष्टा सम्मान र सिर्जना यात्रको लेखाजोखा गरेका थिए। कार्यक्रममा बोल्दै नाटककार अशेष मल्लले यस्ता महत्त्वपूर्ण कार्यक्रममा राज्यका जिम्मेवार व्यक्तिहरूलाई पनि उपस्थित गराउनु सान्दर्भिक हुने विचारका साथमा हामीले अब हाम्रो प्रकृतिको भव्यतालाई विश्वसामु प्रस्तुत गर्ने बेला आएको सन्दर्भ उल्लेख गरे ।

कवि तथा नाटककार सरुभक्तले आफू यस प्रतिष्ठानको कार्यशैलीबाट सधैँ प्रभावित रहेको बताए । कवि विमल कोइरालाले सरकारले गर्न नसकेको काम नेपाली कला साहित्य डट कम प्रतिष्ठानले गर्दै आएको विचार प्रस्तुत गरे । प्रमुख अतिथि तुलसी दिवसले सीमित साधन र स्रोतमा देशभित्र तथा बाहिर साहित्यको उन्नयनमा लागेको प्रतिष्ठान वास्तवमै प्रशंसा गर्न लायक रहेको विचार प्रस्तुत गरे । मानिसमा निहित सृजनशील प्रतिभालाई प्रस्फुटन गराउन उत्प्रेरकको काम गर्ने संस्था सधैँ धन्य रहने धारणा उनको थियो ।

सभाध्यक्षका रूपमा रहेकी साहित्यकार मोमिला जोशीले भित्रैबाट हुटहुटी जागेर संस्थाका माध्यमबाट भाषा साहित्यको सेवामा लागेको विचार प्रस्तुत गरिन् । लासमाथि आँसु चुहाउनु भन्दा प्रतिभालाई जीवनकालमै सम्मान गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।

कार्यक्रमलाई हिमालयन एभरेस्ट इन्स्योरेन्सले विशेष सहयोग गरेको थियो भने काठमाडौँस्थित गोल्डेन गेट इन्टरनेशनल कलेजको विशेष साथ रहेको थियो ।

Comments are closed.