काठमाडौँ – नेपाली साहित्यको उत्थानमा विशेष योगदान पुर्याउँदै आउनुभएकाे समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई काठमाडौँमा आयोजित एक समारोहबीच सम्मान गरिएको छ । नववर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँलाई सम्मान अर्पण गरिएको हो ।
युवा साहित्यकार नीरा श्रेष्ठ महर्जनद्वारा आयोजित तथा नित्य वेयर्स, ललितपुरद्वारा प्रायोजित उक्त कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व कवि, गीतकार तथा पूर्वअर्थमन्त्री एस. पी. कोइरालाले सम्मान प्रदान गर्नुभएको थियो ।
नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली तथा मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै एस. पी. कोइरालाले प्रा. डा. कार्कीलाई सम्मान गर्न पाउँदा आफू नै सम्मानित भएको अनुभूति भएको उल्लेख गर्नुभयो । उहाँले कार्कीलाई व्यक्तिगत रूपमा नजिकको साथी मात्र नभई पारिवारिक सम्बन्धले समेत जोडिएको व्यक्तित्वका रूपमा स्मरण गर्दै प्राज्ञिक क्षेत्रसँगै साहित्यमा समेत सक्रिय रहेको बताउनुभयो । सेवानिवृत्त जीवन अझ सक्रिय र सिर्जनशील रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले आयोजक नीरा श्रेष्ठ महर्जनको पहलको प्रशंसा गर्नुभयो ।
सभापति पवन आलोकले प्रा. डा. कार्कीको शालीन व्यक्तित्व, सामाजिक, साहित्यिक तथा शैक्षिक योगदानबारे प्रकाश पार्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको कामना गर्नुभयो ।
यसै अवसरमा प्रा. डा. कार्कीको ६२ औँ जन्मोत्सवको सन्दर्भ पनि जोडिएको थियो । त्रिभुवन विश्वविद्यालयमा ३५ वर्षे शिक्षण सेवा पूरा गरी हालै सेवानिवृत्त हुनुभएकाे कार्कीको आगामी विदेश भ्रमण सफल रहोस् भन्ने कामना समेत व्यक्त गरिएको थियो ।
सम्मानित व्यक्तित्व प्रा. डा. कार्कीले आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पार्दै जन्मस्थल भोजपुरका सम्झनाहरू साझा गर्नुभयो र सम्मानका लागि आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा प्रा. डा. कपिल अज्ञातलगायतले मन्तव्य राख्दै कार्कीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएकाे थियाे ।
सो अवसरमा गीता अर्याल, विजयध्वज थापा, कृष्ण बाउसे, निर्मलरमण पराजुली, ध्रुवराज थापा ‘पुरुष’, कपिल अज्ञात, बद्री उप्रेती, पवनकुमार बुढाथोकी, अमर अधिकारी, भानुराज जोशी, मुकुन्द पौडेल, मदन नेपाल र राज रजकले रचना वाचन गर्नुभएकाे थियाे । कार्यक्रममा साहित्यकार, समाजसेवी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण स्वयं आयोजक नीरा श्रेष्ठ महर्जनले गर्नुभएको थियो ।







Discussion about this post