दशैँ! मिलनको सौन्दर्य
घटस्थापन, पूजा र कलसको प्रपञ्चमा
सुस्तरी सुस्तरी बढदैछन् जमरामा खुसी
रमझम र खुसियालीको मृदु आवृत्तभित्र
मुग्ध संगीत लिई मादकता भर्दैछ मालश्री
मिलन
पुनर्मिलन
हर्ष र खुसीका रंग लिएर मुसिँदैछन् अक्षता
जमरा सजिएर शीरमा कृतज्ञ हुनेछ पर्व
पर्व अभावमा पनि खुसी दिने
पर्व पीडामा आनन्द दिने
त्यसैलेत
क्रमशः क्रमशः तरङ्गित स्पर्शमा
पुछेर कल्मशहरु
फक्रिंदै फुल्दै संस्कृतिका अंगालोहरुमा
नयाँ नयाँ बन्दैछन् दिन
दोबाटोमा प्रतीक्षारत आँखाहरुको
मिलन बन्दैछ गन्तव्य
पुजा, टिका र आशीर्वादको सौन्दर्यमा
सगरमाथाको सेतो शिरमा टिका र जमराको मिलन
संसारको सौन्दर्य पर्व, पर्वहरुको सुन्दरता खुसी
सौन्दर्य र खुसीको मिलन नै दशैँको सुन्दरता
दशैँ ! मिलनको सौन्दर्य ।
रञ्जना निरौला
Comments are closed.