छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

       काठमाडौं, ७ चैत   

            कैलाली, जोशीपुर गाउँपालिका-७ हजारीबारास्थित सडकमा से.१ त ८८७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिल रानी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १३ जनाको बर्दगोरीया अस्पताल र १९ जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौं, दक्षिणकाली नगरपालिका-८ शितल चोकस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका १ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-४ बैरिहवास्थित सडकमा लु.८९ प ९८५९ नम्बरको मोटरसाइकल र लु.७८ प ९८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा लु.७८ प ९८७ नम्बरको मोटरसाइकल चालक सुनवल नगरपालिका-१२ भतौडी बस्ने २० वर्षीय श्रीकान्त केवटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमीस्थित सडकमा प्रदेश ३-०२-००७ प ४२६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुङ्गा माङ्खा घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ३६ वर्षीय नबिन कुमार कटुवालको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.