कवि तथा गजलकार युवराज भण्डारीका दुई कृति ‘अर्को कर्नाली’ र ‘भावनाको तस्वीर’को परिचर्चा सम्पन्न भएको छ । नेपाली साहित्य समाज क्यानडाको आयोजनामा भर्चुअल माध्यमबाट दुवै कृतिको परिचर्चा कार्यक्रम भएको हो । सदा जस्तै यस पटक पनि विभिन्न सर्जकहरूले आफ्नो कविता वाचन गरेका थिए ।
समाज क्यानडाका महासचिव कवि मोहन खरेलद्वारा सञ्चालित उक्त कार्यक्रममा कवि तथा गजलकार डा. ऋषि बस्ताकोटीले ‘भावनाको तस्वीर’ गजलसङ्ग्रह र संस्थाका अध्यक्ष कवि डा. खेम गुरागाईंले ‘अर्को कर्नाली’ कवितासङ्ग्रको परिचर्चा गरेका थिए ।
‘भावनाको तस्वीर’को चर्चा गर्ने क्रममा बस्ताकोटीले भण्डारीको साहित्यिक र सामाजिक जीवन बारे बोल्दै पचासकै दशकमा गजल लेखन सुरु गरेका भण्डारीको सत्तरीको दशकपछि देखिएको सक्रियतालाई उनको पुनरागमन भन्न सकिने कुरा बताए । साथै उनले आफूलाई मन परेका केही गजलहरू पनि वाचन गरेका थिए ।
गजसङ्ग्रहको विविध आयाम माथि समीक्षा गर्दै बस्ताकोटीले भने, “ ‘भावनाको तस्वीर’मा सङ्गृहीत गजलहरूमा काफिया, रदिफ र गजलका अन्य सिद्धान्तहरूको गजलकारले इमानदारीपूर्वक प्रयोग गरेका छन् । विम्ब र शिल्पीका पुष्प गुच्छाले उनेर उनले भावनाका सुन्दर एक सय एक तस्वीरहरू सिर्जेका छन् । सङ्ग्रहमा सङ्कलित गजलहरू प्रेममा मात्र सीमित छैनन् । देश, परदेश, राजनीति, जीवन दर्शन, गरिबी, युद्ध आतङ्क र अन्य विविध विषयमा फैलिएका छन् । यस कृतिमा मुसलसल र गैरमुसलसम दुवै किसिमका गजल छन् । गजलकारले मक्तामा आफ्नो नाम या उपनाम पनि जोडेका हुन्छन् । यसरी जोडिने उपनामलाई तखल्लुस भनिन्छ तर गजलमा तखल्लुसको प्रयोग अनिवार्य छैन । यस कृतिमा समावेश गजलहरूमा तखल्लुसको प्रयोग कमै पाइन्छ । गजलको परिमार्जित संरचनालाई मध्यनजर राखेर गजल सिर्जनामा लाग्नु आजका गजलकारको धर्म हो जस्तो लाग्छ । यस्तै एउटा कुशल गजलशिल्पीको रूपमा भण्डारीको आगमन भएको छ । यो कृति प्रवासबाट नेपाली गजलमा आएको एउटा महत्त्वपूर्ण प्राप्ति हो । भविष्यमा अझै सुललित र उत्कृष्ट गजलहरू पढ्न पाइयोस् । मित्र भण्डारीलाई धेरै बधाई तथा शुभकामना !”
साहित्य भन्ने बित्तिकै विभिन्न वाद होला, विचार होला, अस्तित्व, आशा निराशा अनि रूपरङ होला, ‘अर्को कर्नाली’माथि चर्चा सुरु गर्दै खेम गुरागाईंले भने । यी सबै कुराहरूको काव्यिक मिश्रणको रूपमा यो किताबलाई पाएको छु । यस सङ्ग्रहमा विविध विषयका कविताहरू छन् । लेखकले अनेकन् पात्र र विम्बहरूको माध्यमबाट आफूलाई पस्केका छन् । तथापि यस कृतिमा मेरुदण्डको रूपमा एउटा पात्र छ । यो विम्बको रूपमा छ, छायाँको रूपमा छ, कुनै न कुनै रूपमा कवि त्यो पात्रको वरिपरि घुमिरहेको जस्तो लाग्छ । यो कृतिमा बडो वजनदार भएर बसेको त्यो पात्र आमाको रूपमा छ ।
कृतिमाथि थप समीक्षा गर्दै गुरागाईंले भने, “यस पुस्तकका सिर्जनाहरू अनेक घर्षण र टकराबहरूबाट निस्केका छन् । हरेक सिर्जनाको आफ्नै सिमाना हुन्छ । लेखकको व्यक्तित्व त्यो भन्दा माथि हुन्छ । यस सङ्ग्रहमा जन्मथलो देखि देश परदेशका अनेक पत्रहरू छन् । ती सबै पत्रभित्र छर्नु सबै पाठकलाई सहज नहुन सक्ला तर समग्रमा कविताहरूको रसास्वादनले पाठकहरूलाई सुखद अनुभूति दिनेछ भन्ने मलाई लाग्छ । भण्डारीका कवितामा लेखकीय इमान्दारिता झल्किन्छ, तर त्यो कुन तहमा छ भन्ने कुरा पाठकहरूको दृष्टिमा निर्भर रहनेछ । रचनाहरूमा समस्या छन्, चित्कार छन्, अन्तरद्वन्द्व छन् र उत्तरको अपेक्षा छ भने कतै कवि आफ्नो बाटोको चिन्तनमा छन् । केही कविताहरू अझ परिष्कार र शृंगार सहित आएका भए झन् सुन्दर हुने थियो भन्ने लाग्छ । तथापि ५६ वटा कवितामा सबै उच्च कोटिका कविताहरूको आशा राख्नु आफैँमा पनि भुल हुन्छ जस्तो लाग्छ । तर सङ्ग्रहमा धेरै सुगठित र तेजस्वी कविताहरू छन् जसले कविको कवित्व चम्काएका छन् । कविको लेखन सरल छ, कर्नाली नदी जस्तै सलल बगेका छन् । त्यस लहरमा पाठकहरू रमाएर बग्नेछन् भन्ने मेरो विश्वास छ । कविका अझ सशक्त कृतिहरू आऊन् धेरै धेरै शुभकामना !”
भण्डारीका कवितासङ्ग्रह ‘अर्को कर्नाली’ र गजलसङ्ग्रह ‘भावनाको तस्वीर’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
Comments are closed.