प्रज्ञा-प्रतिष्ठानमा उराँव भाषा साहित्यको विकासबारे विमर्श

काठमाडौँ ।२०८१ असार, नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य’को बाह्रौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको थियोे । सामूहिक रूपमा राष्ट्रिय गान ‘सयौँ थुँगा..!’ गाएलगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे ।
कार्यक्रममा ‘उराँव भाषा साहित्यको विकास’ विषयक कार्यपत्र अध्येता कुमारीशरणा उराँवले प्रस्तुत गर्नुभएको थियो ।उहाँले उराँव भाषा र साहित्यको इतिहास ,आरोह र अवरोहबारे चर्चा गर्नुभएको थियोे ।
कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले चार/पाँच हजार वर्षदेखि सिन्धुघाँटी हुँदै इतिहास निर्माण भएको उराँव जातिको भाषा ,साहित्य र संस्कृति सङ्कटापन्न अवस्थामा पुग्नु दुखद कुरा हो।सबै भाषाको जगेर्ना गर्नसके मात्र कुनै पनि जातिको सभ्यता र संस्कृति बँच्ने बताउनु हुँदै प्रज्ञा-प्रतिष्ठान यस अभियानमा रहेको उल्लेख गर्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,भाषा (मातृभाषा कोष र व्याकरण ) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले हाम्रो मातृभाषा सबैजातिको साझा सम्पदा भएकाले यसको संरक्षणमा समान दायित्व हुनुपर्ने बताउनु भएको थियोे ।
उक्त कार्यपत्रमाथि प्राज्ञसभा सदस्य धर्मेश पोखरेल,डा.सोमबहादुर धिमाल,शोभा सुनुवार र रचना मोक्तान तामाङले पूरक टिप्पणी गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य , साहित्य (मातृभाषा) विभाग प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा-प्रतिष्ठान सबैको साझा थलो भएकाले प्रत्येक भाषा र साहित्यको उन्नायनमा लागिपर्ने बताउँदै ‘उराँव भाषा र साहित्यको विकासका बारेमा बुझ्ने र सोच्ने अवसर पाएकामा आफूलाई गौरवबोध भएको बताउनुभएको थियोे ।
कार्यक्रममा वाम्बुले भाषाको कविता गणेश राई,थामी भाषाको कविता डम्बर थामी र डोट्याली भाषाको कविता भुवन निस्तेजले वाचन गर्नुभएको थियोे ।आजबाट कविता वाचनसँगै सुरु गरिएको टुङ बाजाअर्थात् एलम्बरबाजा ,चरीबाजा ,मुर्चुङ्गाबाजा र पिपिरीपात जस्ता रैथाने बाजा कलाकार हिरन राईले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे ।

Comments are closed.