काठमाडौं । वरिष्ठ मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ कृति सार्वजनिक भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान् कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा रामकण्ठ माकजु, मुटु रोग विशेषज्ञ डा स्मृति शाक्य, हास्य कलाकार हरिवंश आचार्य र लेखक कोजु सहित ६ जना जाक्लेटरको टोलीले संयुक्त रूपमा लोकार्पण गरेका छन् ।
कार्यक्रममा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरूले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने बताए ।
मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाले समाज रूपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामो समयसम्म रहने उल्लेख गर्दै हामीले व्यतीत गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्य लाभ लिन सकिने अनुभव सुनाए। उनले भने, “मैले बिरामीलाई सधैँ भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नै पर्ने भनेको व्यायाम रहेको छ ।”
बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि हत्तेरिक्ता औषधि नै छुट्यो, नुनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयवस्तु समेटिएका छन् ।
डा माकजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने बताए।
हास्य कलाकार हरिवंश आचार्यले पुस्तकलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रूपमा लिने गरेको हुँदा जन्मोत्सवलगायतका अवसरमा उपहारका रूपमा पुस्तक दिँदा उपयुक्त हुने धारणा राखे। डा शाक्यले मुटुको कथासम्बन्धी कृतिमा स्रष्टाले स्वास्थ क्षेत्रमा काम गर्दाको आफ्नो कथा, व्यथा, वास्तविकता, भावनालगायतका विषयवस्तु केही कविता र केही निबन्ध शैलीमा प्रस्तुत गरेको बताइन्।
लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरुबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर पुस्तक लेख्ने जमर्को गरेको बताए।
उनले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयबस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पुर्याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिए।