नेपाल प्रज्ञा–प्रतिष्ठानले वाङ्मय शताब्दी पुरुष जोशीका परिवारजनमा समवेदना

२०७९ कार्तिक २ गते ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले कीर्तिशेष वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । ललितपुरको पाटन, बखुम्बहालस्थित जोशी निवासमा गई नेपाल प्रज्ञा–प्रतिष्ठानको टोलीेले कीर्तिशेष जोशीका परिवारजनमा समवेदना प्रकट गरेको हो ।

समवेदना प्रकट गर्न जोशीनिवासमा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती, निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, डा. देवी नेपालका साथै प्राज्ञ सभाका सदस्य शशी लुमुम्बू उपस्थित हुनुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका तर्फबाट निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले समवेदना–पत्रवाचन गरी कीर्तिशेष जोशीकी ९९ वर्षीया जीवन सँगिनी श्रीमती राधादेवी जोशीलाई हस्तान्तरण गर्नुभएको थियो । जोशीका जेठा छोरा अनुराजलगायत छोरा तथा छोरीहरूले समवेदना प्रकट गरेकामा प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

वि. सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा पिता शङ्करराज जोशी र माता नोगलदेवी जोशीका पुत्ररत्नका रूपमा जन्मिनुभएका जोशी १०३ वर्ष ५ महिनाको उमेरमा २०७९ असोज ३० गते ललितपुरको किष्ट अस्पतालमा कीर्तिशेष हुनुभएको थियो ।

Comments are closed.