काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका उद्दार तथा खेलकुद क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच जना कर्मचारीहरू संयुक्त राष्ट्रसंघ (यूएन) मिसनमा सिधै सहभागी हुने भएका छन्।
विपद् व्यवस्थापन तथा गोताखोरसम्बन्धी विशेष तालिम प्राप्त गरी विपद्का समयमा निरन्तर रूपमा उद्धार कार्यमा खटिँदै आएका कर्मचारीहरूलाई उक्त अवसर प्रदान गरिएको हो। साथै, सन् २०८१ मा “वर्ष जवान” घोषित कर्मचारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै संगठनको गरिमा बढाउने खेलाडीहरू पनि छनोटमा परेका छन्।
उक्त सहभागी कर्मचारीहरूमा विशेष रूपमा उत्कृष्ट कार्य गरेको विवरण यस प्रकार छ:
सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्ट विपद्का समयमा देशका विभिन्न भागमा १९ पटकसम्म खटिएका थिए। यस क्रममा उनले १० जनाको सकुशल उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए। उल्लेखनीय रूपमा, उनले २ जना पर्यटकलाई जिवितै उद्धार गरेका थिए।
सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्ले गत चैत्र १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जनामध्ये ५ जनालाई रोप रेस्क्यु विधिबाट सकुशल उद्धार गरेका थिए। यसबाहेक उनले विभिन्न घटनाहरूमा २० पटक खटिएर १५ जनाको शव निकाल्ने कार्यसम्पादन गरेका थिए।
सशस्त्र प्रहरी सहायक हवल्दार मेखबहादुर गुरुङ्ग गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरूमा उत्कृष्ट प्रशिक्षकको रूपमा निरन्तर खटिदै आएका छन्। उनले विभिन्न दुर्घटना र घटनाहरूमा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुका साथै विदेशी नागरिकको उद्धारमा समेत सक्रिय सहभागिता जनाएका थिए।
सशस्त्र प्रहरी सहायक हवल्दार किरणबहादुर भण्डारी आपत् विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारमा उत्कृष्ट कार्य गरेको कारण गत वर्ष “वर्ष जवान–२०८१” घोषित भएका थिए। उनलाई पनि संगठनको नीति अनुसार यूएन मिसनमा सहभागी गराइएको हो।
सशस्त्र प्रहरी परिचर पुरन राई नेपाल एपीएफ क्लबसँग आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ्ग विधामा उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। उनले ८ स्वर्ण, ३ रजत र १ कांस्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए।
सशस्त्र प्रहरी बल नेपालका अनुसार, उत्कृष्ट कार्यसम्पादन गर्ने जनशक्तिलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने उद्देश्यले यी पाँच कर्मचारीलाई यूएन मिसनमा सहभागी गराइएको हो। यस पहलले संगठनको क्षमतामा वृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पहिचान सुदृढ पार्ने विश्वास गरिएको छ।संगठनले यस किसिमका प्रोत्साहनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।






