चितवन मेडिकल कलेजमा स्तन क्यान्सरको बहिरङ्ग सेवा निःशुल्क

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा निःशुल्क गरिएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको जानकारी दिए । उनका अनुसार अस्पतालले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यो महिनाको प्रत्येक शुक्रबार विद्यालय तथा क्याम्पसमा गएर छात्रालाई स्तन आफैँले कसरी परीक्षण गर्ने भन्नेबारे प्रशिक्षण दिने गरिएको देवकोटाले बताए । “नौ कक्षाभन्दा माथिका छात्राका साथै विद्यालय र क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाको पहिचान कसरी गर्ने, कसरी आफैँले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ”, उनले भने ।

Comments are closed.