काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः अत्यधिक बढाएको छ । निगमले आज बिहानैदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २ सय १९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल लिटरको २ सय ७ रुपैयाँ कायम भएको छ ।यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक सय रुपैयाँले महँगिएसँगै १४ दशमलव २ केजी भरि सिलिन्डरको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ । आधा सिलिन्डर १ हजार ५ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धनमा पनि प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेकाले मूल्य समायोजन गर्नुपरेको हो । पश्चिम एसियामा जारी द्वन्द्वका कारण इन्धनको मूल्यमा दबाब परेको जनाइएको छ । मूल्य वृद्धिपश्चात् पनि पाक्षिक ७ अर्ब ८१ करोड घाटा बेहोर्नुपर्ने निगमले जनाएको छ ।
निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।








Discussion about this post