गीतकार संघ नेपालद्वारा ‘राष्ट्रिय स्रष्टा सम्मान’ घोषणा

 

गीतकार सङ्घ नेपालले यसवर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान’मा सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ । संघले यस वर्षको ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७८’ नेपाली गीत लेखनमा निरन्तर साधनारत झापा विर्तामोड निवासी अग्रज गीतकार शिवशंकर थापालाई प्रदान गरिने जनाएको छ । थापालाई एक लाख ५१ हजार रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने जनाइएको छ ।
यस्तै ‘डायस्पोरा गीतकार सम्मान’ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुर्‍याएबापत अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने गीतकार गीता खत्रीलाई प्रदान गरिने भएको छ । उहाँलाई १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै गतवर्षबाट सुरु गरिएको ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान-२०७८’ बाट तामाङ भाषाका लागि रामेछाप निवासी गीतकार प्राज्ञ मानबहादुर दोङ तामाङलाई प्रदान गरिँदैछ । उहाँलाई २५ हजार २५२ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै संस्थामा आबद्ध सदस्यहरूले २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत् दर्ता हुन आएका गीतमध्येबाट ‘वर्ष गीत पुरस्कार २०७८’ प्रयोजनका लागि उत्कृष्ट १० गीतहरू छनोट गरिएको छ ।
वर्ष गीत पुस्तक २०७८ का लागि वीरेन्द्र राईको ‘रैछाकुले म’, टीका भट्टाराई नेपालको ‘मनका रंगहरू’ र विजय कट्टेल ‘छहरा’को ‘देशकै माया लाग्छ’ छनोट भएका छन् । छानिएका उत्कृष्ट १० गीत र तीन पुस्तकमध्येबाट विशेष समितिले चयन गर्ने एक/एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रमस्थलमै घोषणा गरी प्रत्येकलाई ५७ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने संघका महासचिव रमेश कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments are closed.