अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’लोकार्पण

ललितपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी  पद्मसुन्दर जोशीको  अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’विमोचन गरिएको छ ।  लेखक पद्मसुन्दर जोशी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हितिसम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी लागेको बताए । “मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरूबाट पानी झारेर देखाउने धोको थियो,” उनले भने, “त्यो पूरा हुन पाएन तर अझै पनि प्रयास जारी छ ।” उनले लगनखेलको सप्तपाताल पोखरीको जमिन नगर स्वामित्वमा ल्याउन सफल भएको र टीकाभैरव राजकुलो ब्युँताउने अभियानसमेत उल्लेख्य रूपमा अघि बढेको उनले बताए । आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै उनले भने, “तिनै पोखरीमा फेरि कमल फुलाउने आफ्नो इच्छा छ ।”

कार्यक्रममा बोल्दै सर्जक जोशीले आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा बीस वर्षे योजना बनाइने बताए । “धेरै महत्त्वाकाङ्क्षी योजना छ भने तीस वर्षे पनि होला,” उनले भने, “आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्योभन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ ।” हिति प्रणाली, भावि पिँढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण रहेको उनले बताए ।

पब्लिकेसन नेपालयद्वारा प्रकाशित सो कृतिमा आधा शताब्दीअघिसम्म काठमाडौँ उपत्यकामा रहेको संस्कृति र वास्तुकलाको अवस्थाका बारेमा प्रकाश पारिएको छ ।  नेपाल भनेर चिनिने काठमाडौँ उपत्यका हालको जनसङ्ख्या विस्फोट हुनुअघिसम्म वास्तुकला र संस्कृतिको विश्व स्तरको जिउँदो नमुनालाई यस कृतिमा प्रस्तुत गरिएको छ ।

Comments are closed.