काठमाडौं – नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सम्झौता भएको छ । उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायताका लागि सम्झौता गरिएको हो ।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधवार अर्थ मन्त्रालयमा उक्त सम्झौता भएको हो । जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्षको हुनेछ । यसका साथै भुक्तानी अवधि ३० वर्ष र ०.२ प्रतिशत ब्याजदर रहनेछ ।अर्थ मन्त्रालयका अनुसार यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।
ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।








Discussion about this post