जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

महराले लुम्बिनी प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सङ्ख्या मध्ये विभिन्न संसदीय दलहरुबाट ४८ जनाको हस्ताक्षरसहित दुई भन्दा बढी दलहरूको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुभएकोले मुख्य मन्त्री नियुक्ति गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उहाँको पक्षमा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र एक र स्वतन्त्र एक गरी ४८ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गर्नुभएको थियो । प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र शुक्रबार नै प्रदेश प्रमुखलाई बुझाइएको थियो ।

Comments are closed.