कागजी प्रेम
काममा आजबाट नयाँ केटी आउछे। सबैलाई एउटा कौतुहलताको विषय थियो। कस्ती होली नयाँ केटी। अथवा नयाँ को – वर्कर। ‘मान्छे मिल्ने परेन भने त गाह्रो हुन्छ काम गर्न’। त्यहाँकी सबैभन्दा पुरानी कामदार ओकी यताउता चारैतिर सबैलाई हेर्दै भन्दै थिई। यस्तै खासखुस कुरा हुँदै थियो एक – आपसमा ।
अलिनाले यसो घडीतिर आँखा लागाई । घडीले पौने दुई बजाएको थियो। खोइ अहिले सम्म आइन? के काम गर्थी यस्तीले? पहिलो दिनमा नै ढिलो आउनेले? सबैका सामु ओठ बटार्दै बोली ऊ। सबैले उसका आँखामा आँखा मिलाए। हो तैले ठीक भनिस जस्तो गरेर सहमति जनाएँ सांकेतिक रूपमा। त्यति नै बेला पछाडिको ढोका घर्लक्क गरेर खुल्यो। सबैका आँखा ढोकातिर नै दौडिए।
ढोकाबाट छिरी। गोरी ,पातलो शरीर , छोटो कपाल भएकी अन्दाजी चालीस पैंतालिस वर्षकी जस्ती देखिने अधबैशें महिला।
म्यानेजर कता हुनुहुन्छ? सबैको नजर आफैंमाथि देखेर हो कि के हो? केही डराएको थोरै लजाएको झैँ गरेर अलिनातिर हेर्दै सोधी उसले।उता परतिर। हातको इशाराले रिसेप्स्सनतिर देखाउदै बोली अलिना। खुरु खुरु म्यानेजर भएतिर गई ऊ।
म्यानेजरसँग एकछिन कुरा गरेपछि म्यानेजरले तिनै केटीलाई लिएर ओकी भएतिर आए। सबैलाई आफूतिर बोलाउँदै भने यी हुन मेरिना। आजबाट यहीं काम गर्छिन। उनले त्यहाँ काम गर्ने सबैलाई चिनाए उनीसंग। र ओकीलाई भने उसलाई तिमीले काम सिकाउ है।
आजबाट मेरिना अब हाम्री संगै काम गर्ने साथी बनेकी थिई। सायद पहिलाको कामको राम्रो अनुभवले होला मेरिनालाई काम सिक्न त्यति गाह्रो परेन। उसले छिट्टै एकदुई दिनमै काम सिकिहाली। सबैसंग बोलिहाल्ने छिट्टै घुलमिल भइहाल्न सक्ने खुबीले होला ऊ छोटो समयमै सबैकी साथी बनेकी थिई। चिनजान घुलमिल हुँदै गएपछि मलाई पनि विस्तारै मन पर्न थालेको थियो ऊ।
पातलो शरीर र उसको लुवाई खुवाईका कारण पनि हुन सक्छ ऊ हेर्दा त्यति बूढी देखिदैनथी जति उसको उमेर थियो। फेरि विदेशीहरूले आफूलाई निकै सिंगारेर राखेका हुन्छन। हामी नेपालीजस्ता भ्याट्ट पेट बाहिर निक्लने मोटा शरीरका कहाँ हुन्छन र?
मेरिना हेर्दा जति राम्री देखिन्थी र शरीरमा जति फुर्ति थियो। त्यतिकै उसको अनुहारमा भने त्यति धेरै चमकता छाएको देखिदैनथ्यो। उसको अनुहारमा देखिने केही निराशाका भावहरूले भने नजानिदो पारामा केही न केही कुराको अभावको महशुस गराउथ्यो सधैं मलाई। मलाई लाग्थ्यो ऊ बनावटी हाँसो हाँसिरहेकी रहेकी छ हामीसंग। खुलस्त मनका कुरा भन्ने स्वभाव भएपनि केही न केही त लुकाईरहेकी छ उसले। जसले जसका कारण ऊ दिल खोलेर हाँस्न सकिरहेकी छैन।
काम सबै काम उस्तै हुन गर्न सजिलो काँहा हुन्छ र ? अझ संसारकै विकसित र ठूलो देश अमेरिका। मानिसको कामप्रतिको मिहिनेत, परिश्रम र लगावका कारण नै यो देश यति विकसित भएको हो। मेशिनजस्तै चल्ने मान्छे र यहाँको काम सायद अमेरिकाका पर्यायक हुन। र देश विकासको बलियो आधार पनि।
समय आफ्नै गतिमा चलिरहेको थियो। समयसंगै चलिरहेका थिए मान्छेहरू। मेरिना काममा आएको पनि छ महिना भईसकेको थियो। पत्तै नपाई बितिसकेक थिए छ महिना। यो छ महिनामा काम त्यहि थियो समय र काम गर्ने तरिकामा पनि कुनै परिवर्तन आएको थिएन। र उस्तै थिई मेरिना पनि। अनि बद्लिएको थिएन मेरिनाको अनुहार। उसको अनुहार त झन् पहिलेभन्दा अझ मलिन र निराश देखिन्थ्यो।
उसको घर काम गर्ने ठाउँबाट टाढा थियो। त्यसैले ऊ आफ्नो दिउसो खाना खाने एक घण्टा ब्रेकमा पनि घर जादैनथी। ऊ आफ्नो ब्रेकमा किचनको पछाडि एउटा कुनामा बस्थी र आफूले घरबाट ल्याएको खाना खान्थी। किचनको कामले भित्र बाहिर गरिरहनु पर्दा उसलाई घरि- घरि देखिन्थ्यो। एकदिन म कुनै कामले किचनमा जाँदै थिए ऊ कसैसंग फोनमा कुरा गर्दै बेस्सरी डाँको छोडेर रुँदै थिई। म आफ्नो काममा नै व्यस्त हुनुपर्ने थियो। देखेर पनि नदेखेजस्तो गरिदिएँ। तर मनमा किन रोई ऊ भन्ने चाहिं लागिरह्यो। उसको रुवाइले मन खल्लो भइरहयो धेरैबेरसम्म।
ब्रेकबाट काममा फर्केर आउँदा उसका आँखा रुँदा रुँदा सुन्निएकाजस्ता देखिन्थे। अनि अनुहार मलिन। कामको चाप एकदमै बढी थियो। हामीलाई बोल्ने समेत फुर्सद थिएन। उसको आँसु र उसको र उसको व्यथा सुन्ने फुर्सद हामीलाई थिएन। एकछिनमा ऊ पनि सामान्य नै देखिई। लाग्यो उसका आँसु र व्यथा पनि सायदै कामको व्यस्ततासंगै आफैं बिलाएर गयो केही क्षण मै। फेरि फुर्सद नै भए पनि हामी उसका त्यति नजिकका मान्छे पनि त थिएनौ जोसंग ऊ धक खोलेर आफ्ना दुख पोख्न सकोस।
सोचे मान्छे धीत खोलेर रुन पनि नपाउने अनि आफ्नो मनभित्रको पीडा कुनै मन मिल्ने साथीसंग साट्ने समय र साथ नपाउनु कस्तो धिक्कारको जीवन हो यो परदेशको। तर के गर्नु आखिर जिउनु त पर्थ्यो नै।
त्यसको धेरै समयपछि हो। एकदिन बाहिर फुस्स फुस्स गरेर थोरै हिंउ परिरहेको थियो। हिंउकै कारण बाटो पनि चिप्लो थियो। त्यसैले होला मान्छेको आवात- जावात पनि कम थियो। अनि रेष्टुरेन्ट पनि खाली- खाली। हाम्रो खासै काम थिएन। त्यसैले हामी आफ्ना आफ्ना मोबाइल चलाएर बसिरहेका थियौ। त्यस्तैमा मेरिना मेरो नजिक आई अनि आफ्नो मोबाइलको स्क्रीनको फोटो देखाउँदै बोली। हेर! यो मेरो ठूलो छोरो।
यस्तै बीस पच्चीस वर्षको बयस्क केटाको तस्वीर थियो। मलाई अलि पत्याउन गाह्रोजस्तो भयो। भर्खरकी देखिने मेरिनाको त्यति ठूलो छोरो छ भनेर। सायद मेरो अनुहारको अन्यौलता बुझेर नै होला उसले आफ्नो कुरालाई अझ जोड गर्दै भनी हो के यो मेरो ठूलो छोरा नै हो। क्रमश: उसले अरू दुई जना त्यस्तै र अठार र पन्ध्र बर्षका जतिका छोरा र छोरीका तस्वीरहरू पनि देखाई। र अन्त्यमा आन्दाजी पचपन्न साठी वर्ष जतिको बूढो मानिस देखाउँदै भनी ऊ मेरो पहिलेको श्रीमान्।
विस्तारै रेष्टुरेन्टमा मानिसहरू आउन थाले। फेरि आ -आफ्नो काममा लाग्यौ। उसको कुरा पनि अधुरै रहयो।
त्यसको तीन चार दिनपछि होला। त्यो दिन मेरिना र म मात्रै थियौ। रेष्टुरेन्टमा अलि अलि मान्छे त थिए तर काममा त्यति व्यस्त हुनु पर्ने थिएन। हामी भोलिका लागि काटा चम्चाहरूलाई चट्ट मिलाएर कागजमा राख्दै थियौ। कुरा गर्दै जाँदा त्यो दिन ऊ अलि खुलेकी जस्ती देखिई। उसले आफ्ना धेरै कुरा भन्दै गई। कुराकानीकै क्रममा मैले सोधें? किन अस्ति तैले पहिलेको श्रीमान् भनेको? अनि यहाँ तलाई छोड्न आउने मान्छे को हो?
कहिलेकाहीं उसको र मेरोसंगै डिउटी पर्दा उसलाई एउटा लोग्ने मान्छेले छोड्न आएको देखेकी थिएँ। मैले आफ्नो गाडी पार्क गर्दै गर्दा कयौ पटक हामी आमने सामने पनि भएका थियौ। त्यसैकारण पनि मैले उसलाई यो प्रश्न गरेकी थिएँ।
ऊ मेरो अहिलेको श्रीमान् हो। ऊ इटालियन हो। म दस बाह्र वर्ष पहिले इन्डोनेसियाबाट घुम्ने भिसामा अमेरिका आएकी हुँ। घुम्ने त एउटा अमेरिका छिर्ने बाहना मात्र थियो। छोरा छोरी र परिवारको उज्ज्वल भविष्यको लागि पछि यतै लुके। वास्तवमा भन्ने हो भने म त्यहीं योजना अनुसार नै अमेरिका छिरेकी थिए। अलि गम्भीर पारामा बोली ऊ।
अनि बन्यो त कागज ?अहिले छोराछोरी यतै छन त? मैले निकै कौतुहलतापूर्वक प्रश्न गरें उसँग। जब यो प्रश्न गरें उसको अनुहारको भाव एकैछिनमा परिवर्तन भयो। उसका आँखाभरि आँसु भरिएर आए। खस्नै लागेका आफ्ना आँखाका आँसुलाई रोक्दै बोली ऊ। कहाँ हुनु नि ? छैनन्। त्यही कागजले त रुवायो नि जिन्दगीभर। वाह्र वर्ष भइसक्यो कागजको पछि दौडिएको।अझै आएको छैन।
मैले इन्डोनेसिया छोड्दा ठूलो छोरो ब्राह वर्षको थियो।अरू छोराछोरी पनि सानै थिए। अहिले उनीहरू ठूला भइसके। म्यासेन्जरमा कुराकानी हुन्छ दिन दिनैजस्तो तर यत्रो लामो समयदेखि भेट्न पाएको छैन। भेटेर उनीहरूलाई गम्लङ्ग अँगालो हालू जस्तो हुन्छ तर जान सक्दिन।आफ्नो छोराछोरीलाई भेट्न नपाउनु जस्तो पीडा सायद केही नहुदो रहेछ जीवनमा। यति भनिरहदासम्म उसले आफूलाई सम्हाल्न सकिरहेकी थिइन्। उसको गला अबरुद्द थिए आँखाबाट अनवरत आँसु झारिरहेका थिए।
अनि इटालियनसंगको विवाह? फेरि प्रश्न गरें उसलाई।
त्यहीं कागजको लोभमा उसँग विहे गरें। उसले अमेरिकाको नागरिकता लिईसकेको छ। अनि तेरो इन्डोनेशियाको श्रीमानलाई थाहा छ तैले यहाँ विहे गरेको? प्रश्न तेर्स्याएँ ऊतिर।
थाहा छ उसको सल्लाहमै विहे गरेको हो।अझ उसले नै कर गरेर विहे गरेको हो। उत्तर आयो उसको।
मलाई उसको कुरा कता कता असहजजस्तो लाग्यो। नमीठो पनि। कस्तो अचम्म! अमेरिकाको ग्रीन कार्डको लागि आफ्नो लोग्नेले पनि सहजै अर्कोसंग विहे गर भन्दिन सक्ने। धिक्कार लागेर आयो आखिर के रहेछ र? लोग्ने स्वास्नी वीचको पवित्र नाता? के रहेछ र ! माया र सम्बन्ध भन्ने कुरा। कति स्वार्थी छ है यो संसार? यहाँ मान्छेको जीवन कति सस्तो। कति हल्का ! कागजजस्तै। जतापनि उडाउन मिल्ने। जे पनि लेखिन सक्ने।
लाग्यो उसको जीवनका इच्क्षा, रहर या स्वीकृतिहरूसँग एउटा कागज सम्झौता बनेर आयो। सायद ऊ महिला थिई त्यसैले पनि परिवारको सुखद भविष्य र खुसी उसको जिम्मेवारी थियो। उसले तिनै खुसीहरूसंग आफ्ना खुसीहरू पनि तिलान्जली दिनुपर्ने थियो।
कुरै कुरामा मैले भने तलाई यो इटालियन श्रीमानले माया गर्छ त ? मेरो प्रश्नले ऊ कतै हराए जस्तो , टोलाएजस्तो एकोहोरो भई। उसको अनुहारमा एकैपटक प्रेम, हार्दिकता र स्नेह सबै झझल्किएको भान हुन्थ्यो। किन नगर्नु? एकदम धेरै गर्छ। मेरो साना साना कुराको पनि ख्याल गर्छ। जब म छोराछोरी सम्झेर रून थाल्छु। उसले नै मलाई सम्झाउँछ र रून दिदैन।अत्यन्त मायालु पारामा बोली ऊ।
अनि अमेरिकाको कागज बनेपछि तेरो सबै परिवार यहाँ बोलाउने होला? इटालियनलाई डिभोर्स दिन्छेस त? मेरो अप्रत्यासित आएको प्रश्नले ऊ एकछिन आत्तिएजस्ती वा भनौ टोलाएकीजस्ती देखिई।
ऊ केही बोलिन।एकोहोरो हेरिमात्र रही परतिर। सायद यसको जवाफ उसँग पनि थिएन।
विष्णु पगेनी सिग्देल,
एटलान्टा अमेरिका।
Comments are closed.