एमालेबाहेक अरु कसैसँग कुनै नीति नभएकाे एमालेकै नीति बंग्याएर अरुले चाेर्ने गरेका छन् : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले वामपन्थी एकता हुन नसक्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले वाग्मती प्रदेश कमिटीको दोस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले अहिले पार्टीलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयाे । पार्टीकै केही साथीले वामपन्थी एकताका कुरा गरिरहेकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे ।

आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकताबद्ध गरेको स्मरण गर्दै उहाँले केही मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको बताउनुभयो । अध्यक्ष ओलीले माधवकुमार नेपालतर्फ लक्षित गर्दै कम्युनिष्ट एकता अपच भएकै कारण केही व्यक्तिले पार्टी समेत फुटाएको बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘मेरै नेतृत्वमा मैले नै चुनावी तालमेल गर्नेदेखि लिएर, कम्युनिष्ट पार्टी एकजुट बनाउनेदेखि लिएर, करिब २ तिहाइकाे मेरै नेतृत्वमा गरेकाे हाे नि, तर केही मनिसलाई सह्य भएन, उनीहरु अलग भए ।’

एमालेलाई मजबुद बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले पहिले पार्टीलाई बलियाे बनाउनुपर्ने बताउनुभयाे ।

अध्यक्ष ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो । अंहकार एमालेका नेता-कार्यकर्तालाई नसुहाउने भन्दै उहाँले अरु पार्टीका नेता-कार्यकर्ता भन्दा एमालेका नेता-कार्यकर्ता फरक देखिनुपर्ने बताउनुभयाे ।

पार्टीलाई एकताबद्ध र सुद‍ृढ बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । सबै सच्चिएर सही ढंगले हिँड्दा सिंगै पार्टी सही ढंगले हिँड्ने भन्दै उहाँले एउटा नेताले गल्ती गर्नासाथ पार्टीकै बदनाम हुने बताउनुभयाे ।

एमालेबाहेक अरु कसैसँग कुनै नीति नभएकाे भन्दै उहाँले एमालेकै नीतिबाट अरुले बंग्याएर चाेर्ने गरेका बताउनुभयाे ।

Comments are closed.