प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा दुईदिने किरात राई प्राज्ञिक सङ्गोष्ठी सम्पन्न

काठमाडौँ ।२०८० फागुन २७ गतेआइतवार । ‘पुर्ख्यौली ज्ञान सन्तानलाई वरदान:समृद्ध समाज बौद्धिक अभियान’को नारासहित
नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्य र
किरात राई प्रज्ञा परिषद्को आयोजनामा
चौथो किरात राई प्राज्ञिक सङ्गोष्ठी सम्पन्न भएको थियोे । किरात राई जाति, २६ भाषा, मुन्दुम संस्कृति, इतिहासबारे विमर्श गर्ने उद्देश्यले सङ्गोष्ठीको आयोजना गरिएको थियोे । प्रमुख अतिथि तथा निवर्तमान संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सङ्घीय सांसद सुदन किरातीले २०८० फागुन २५ र २६ गते दुई दिने सङ्गोष्ठीको उद्घाटन गर्नुभएको थियोे ।
यस अवसरमा किरातीले जीवन जिउन सिकाउने ज्ञान चाहिएको छ ।यस प्राज्ञिक बहसले किरात सभ्यता र संस्कृति मात्रै होइन ,तमाम ज्ञान र विज्ञानसँगै नेपालको समृद्धिबारे स्पष्ट धारणा तय गर्न सकोस् भन्ने दृष्टिकोण राख्नु भएको थियो ।
यस उद्घाटन सत्रमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य
(मातृभाषा)विभाग प्रमुख प्राज्ञ राजन मुकारुङ
र किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे।
यस प्रतिष्ठानको देवकोटा हलमा आयोजित सङ्गोष्ठी उद्घाटनपछि समाजशास्त्री जितपाल किरातले अध्यक्षता गरेको दोस्रो सत्रमा प्रमुख वक्ता इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले किरात भन्ने प्राचीन सभ्यताको चर्चा गरेका थिए । किरात सभ्यताले नेपालमा मात्र होइन, विश्वलाई नै प्रभाव पारेको उल्लेख गर्दै भने, ‘कति वंशावलीमा यलम्बरले टिस्टासम्म नेपालको सीमाना कायम गरेका थिए भन्ने पनि उल्लेख छ ।’
यसैगरी तेस्रो सत्रमा गोष्ठीमा दुईवटा समानान्तर सत्र सुचारु गरिएको थियो । देवकोटा हलमा सञ्चालित गोष्ठीमा प्रा.डा. सोमप्रसाद खतिवडाले अध्यक्षता गर्नुभएको थियो । डा. शान्तिदेवी राईले ‘मुन्दुम ज्ञानविज्ञान’, शालिक सताशक राईले ‘साल्पा सिलिचुङ-सिलिछो : किरात धार्मिक तथा सांस्कृतिक स्थल’ र भोगीराज चाम्लिङले ‘मुन्दुम र किराती प्राग्इतिहास’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियोे ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले लेखनाथ हलमा सुचारु गोष्ठीको अध्यक्षता गर्नुभएको थियोे । जसमा यसोदा राईले ‘उत्तरवर्ती नेपाली कवितामा किराती पहिचान’, दिवस राईले ‘किरात लोहोरुङ न्वाघी (नःघी) र परशु विरात राईले ‘किरात राई जातिले प्रयोग गर्ने जीवजन्तुहरूको औषधीय महत्वको अध्ययन र अभिलेखीकरण’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियोे ।
यसैगरी जुममा प्रत्यक्ष प्रसारण गरिएको गोष्ठीको मध्यान्तरमा गणेश वाम्बुले राईले साहित्यकार गणेश राईसँग युद्ध साहित्य संवाद र त्यसपछि पत्रकार कुमार यात्रुसँग आदिवासी ज्ञान परम्पराबारे अन्तरक्रिया गर्नुभएको थियोे।
यसैगरी चौथो समानान्तर सत्रमा देवकोटा हलमा प्रा.डा. ओमकारेश्वर श्रेष्ठले अध्यक्षता गर्नुभएको थियोे । डा. नेत्रमणि दुमीराईले ‘किराती भाषाहरूको पठन–विकासः वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरू’ र रोहिणी राईले ‘डेमोस्टे«टिभ प्रोनाउन्स इन साम्पाङ’ शीर्षक गोष्ठीपत्र प्रस्तु गर्नुभएको थियोे।
यसैगरी लेखनाथ हलमा प्रा.डा. विष्णुसिंह राईको अध्यक्षता रहेको गोष्ठीमा जीतमान राईले ‘किरात उत्पत्ति र बसाईँसराइ’ र सिक्किमका डा. बीबी लोवात्ती पिल्मो राई ‘रीसीबु’ले ‘किरात पिल्मो राई जातिको परिचय’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियोे ।
पाँचौं सत्रमा ‘१ नं. प्रदेशको पुनः नामाङ्कनः साझा नाम के हुन सक्ला ?’ विषयमा बहस भएको थियो । शालिकराम राई सहजकर्ता रहेको बहसमा डा. डम्बर चेम्जोङ, डा. केशवमान शाक्य, सांसद दुर्गा राई र किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राईले आफ्नो विचार व्यक्त गर्नुभएको थियोे। योसँगै पहिलो दिनको सङ्गोष्ठी सकिएको थियो ।
यसैगरी दोस्रो दिन फागुन २६ गते छैठौँ सत्रमा ‘कस्तो हुनुपर्छ किराती गीत/सङ्गीत ?’ विषयमा बहस भएको थियो । वरिष्ठ गायक तथा सङ्गीतकार जीतेन राई, प्राज्ञ शान्तिराम राई र प्राज्ञ डाक्टर किरात वक्ता रहनुभएको बहसमा खुक्सङ खम्बूले सहजकर्ताको भूमिका निभाउनुभएको थियोे ।
यसैगरी सातौँ सत्र समानान्तर रूपमा सञ्चालन गरिएको थियो । देवकोटा हलमा डा. जनक राईको अध्यक्षता रहेको सङ्गोष्ठीमा मदन राई ‘एक्सप्लोरिङ किरात राई मुन्दुम फ्रम कम्युनिकेसन पर्सपेक्टिभ्स्’, प्रकाश राईले ‘डिकोलोनाइजिङ इन्डिजेनिटी इन एभ्रिडे लाइफ’, प्रवीण राईले ‘अ लर्निङ स्पेस अफ इन्डिजिनियस नलेज इन याम्फु कम्युनिटी अफ नेपाल’ र डा. सोमबहादुर धिमालले ‘किरातभित्रको धिमालको शक्तिपूजा’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियोे ।
यसैगरी आठौँ सत्रको प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसुदन गिरीले अध्यक्षता गर्नुभएको थियोे । यसमा सरिता राईले ‘राई जातिमा प्रचलित पगरी/फेटा संस्कृति’, निर्कुधन राईले ‘पारिबुङ अर्थात् किराती तोरन’, भीमा नेवाहाङ राईले ‘किरात नेवाहाङ राईहरूको संस्कार कुल खामाङ मुन्दुम’ र निला राईले ‘भाङ्ग्रा (फ्याङ्गा) खालिङ राई समुदायमा प्रचलित मौलिक भेषभुष’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियोे । आठौँ सत्र देवकोटा हलमा मातृभाषा र संस्कृति अभियन्तासँग ‘अग्रजका कुरा’ संवाद भएको थियो । अधिवक्ता शान्तिकुमारी राई, बयानसिंह राई र डिक बान्तावासँग गणेश राईले संवाद गर्नुभएको थियो ।
यसैगरी नवौँ सत्रमा ‘नेपालको सन्दर्भमा आदिवासी भाषा दशक के हुँदैछ ?’ विषयमा बहस भएको थियो । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर ,त्रिवि भाषाविज्ञान केन्द्रीय विभागीय प्रमुख प्रा.डा. बलराम प्रसाई र भाषाशास्त्री अमृत योन्जन तामाङसँग प्रज्ञा-प्रतिष्ठानमा प्रज्ञासभा सदस्य डा. तारामणि राईले बहस चलाउनु भएको थियोे । यस्तै सङ्गोष्ठीको मध्यान्तरमा गणेश वाम्बुले राईले ‘किरात राई यायोक्खाको लोगो र झन्डा निर्माण तथा पहिलो किरात राजा यलम्बर हाङको तस्बिर निर्माण’ विषयमा संवाद गर्नुभएको थियोे । जसमा परिकल्पनाकार यायोक्खाका पूर्वउपाध्यक्ष हरिवंश किरात, पूर्वसदस्य तीर्थराज मुकारुङ राई, पूर्वसदस्य जगन किरात र कलाकार रतनकुमार राईसँग संवाद गरिएको थियो ।
अन्तिम सत्रमा किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईको अध्यक्षतामा दुई दिने प्राज्ञिक सङ्गोष्ठीको समापन भएको थियो ।

Comments are closed.