लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार २०८१’’ अर्पण गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याए वापत लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो ।
लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन्।् । हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह ) , अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह ), नदीको राजमार्ग (लघुकथा सङ्ग्रह ) कृतिहरु प्रकाशित छन् भने उनले विभिन्न साहित्यिक पत्रिकाहरु पनि सम्पादन गरिसकेका छन् । मूलत गजलकारका रुपमा परिचित उनी, कविता, गीत , गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि उनको कलम उतिकै चलिरहेको हुन्छ ।
साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरीको छनौट समितिले समीपलाई पुरस्कारकोलागि चयन गरेको हो ।
साहित्यकार दीपक समीपले यस अघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५४, राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५५ , खुल्ला मुक्तक प्रतियोगिता २०५५ प्रथम , गजल साधना सम्मान २०६३ , (भूगोलभित्र नकोरिएको देश,गजल सङ्ग्रहकालागि) , समता काव्य सम्मान २०६६ , शिल्पी साहित्य सम्मान २०६६ , स्रष्टा साहित्य चौतारी पुरस्कार २०६८ , गजल प्रतिभा पुरस्कार २०६९ , अक्षरयात्रा सम्मान २०७० , गजल सन्ध्या सम्मान २०७० , मुक्तक मन्च पोखरा सम्मान २०७३ , गजल मन्च मकवानपुर सम्मान २०७४ , लेखक कृति पुरस्कार २०७९, (अक्षर अक्षरमा देश मुक्तक सङ्ग्रहकालागि), बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८० , अभिलेख सम्मान २०८१ प्राप्त गरिसकेका छन् ।
लमजुङ पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थपित सो पुरस्कारको राशि दश हजार रुपैंया र सम्मान पत्र रहेको छ । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यस अघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । यहि मंसिर १५ गते शनिबार एक भव्य समारोहको आयोजना गरि साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी गराएका छन् ।
Comments are closed.